काठमाडौं । बंगलादेशमा अल्पसंख्यक समुदायका युवा दिपुचन्द्र दासको भीडद्वारा गरिएको निर्मम हत्याको जनअधिकार पार्टीले कडा निन्दा गरेको छ ।
जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा.शरदसिंह यादवले आइतबार प्रेस विज्ञप्ति जारी गरी मेमनसिंह जिल्लाका २७ वर्षीय हिन्दु युवा गार्मेन्ट मजदुर दासलाई आधारहीन आरोप लगाउँदै भीडले कुटपिट गरी हत्या गरेको र पछि शवलाई पेट्रोल छर्केर आगो लगाइएको घटनालाई अमानवीय तथा जघन्य अपराधको रूपमा उल्लेख गरेका छन् ।
‘यस्तो अपराध कुनै पनि दृष्टिले कानुनी शासनभित्र पर्न सक्दैन र यो सम्पूर्ण मानवताविरुद्धको अपराध हो,’ अध्यक्ष डा.यादवले विज्ञप्तिमा भनेका छन् ।
जनअधिकार पार्टीले घटनामा संलग्न सबै दोषीलाई कडा कारबाही गर्न तथा अल्पसंख्यक समुदायको जीवन र अधिकारको सुनिश्चितता गर्न बंगलादेश सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा अल्पसंख्यक समुदायको बाँचेको अधिकार सुनिश्चित गर्न, पीडित परिवारको सुरक्षा र उचित क्षतिपूर्ति प्रदान गर्नसमेत जोडदार माग गरिएको छ।
पार्टीले मानवअधिकार संरक्षण राज्य, राजनीतिक दल, नागरिक समाज र आम नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै हिंसा, अन्याय र विभेदविरुद्ध निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेको छ।
विज्ञप्तिमा शान्तिपूर्ण, न्यायपूर्ण र मानवअधिकारमैत्री समाज निर्माणप्रति पार्टी सधैँ प्रतिबद्ध रहने स्पष्ट पारिएको छ।
तपाईको प्रतिक्रिया