मधेश बालिका सम्मेलन सिमरामा सम्पन्न

समाचार

अर्जुन साह, बारा । “सक्षम बालिका समृद्ध मधेश“ भन्ने मुल नाराका साथ सिमरामा मधेश बालिका सम्मेलन सम्पन्न भएको छ ।

बालबिबाह विरुद्धको प्रदेश स्तरिय संजालको आयोजना र हाम्रो प्रयास, सखी, लाइफ नेपाल, महिला सचेतना समूह, दलित विकास फोरम, मुक्ति नेपाल, परिकल्पना नेपालको सह–आयोजनामा मधेश प्रदेशको जितपुर सिमरा उपमहानगरपालिकामा मंगलबार र बुधबार दुईदिने मधेश बालिका सम्मेलन २०८२ आयोजना गरिएको थियो ।

बालबिबाह, दाइजो प्रथा तथा सामाजिक विद्यमान हानिकारक अभ्यास अन्त्य र बालिकाको अधिकार संरक्षण तथा नेतृत्व विकासलाई अग्रसर बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजक समितिका कार्यक्रम संयोजक प्रसंशा सिंहले जानकारी गराइन् ।

उक्त सम्मेलनको पहिलो दिन उद्घाटन सत्रको अध्यक्षता बालिका सम्मेलन मुल आयोजक समितिका अध्यक्ष सन्ध्या पटेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, विशिष्ट अतिथि नीति तथा योजना आयोगकी सदस्य रिना यादव, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र कडेल, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख बेदप्रकश जोशी, महिला अधिकारकर्मी निभा सिंह लगायत अतिथि पत्रकार, नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । उक्त सम्मेलनमा मधेश प्रदेशका सबै जिल्लाका करिब १०० जना बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

मधेश बालिका सम्मेलन २०८२ भवयपुर्वक आयोजना गर्न मधेश प्रदेश सरकारले शुभकामना सन्देशसमेत पठाएको थियो । सन्देशमा बालबालिका भविष्यका आशामात्र होइन परिवर्तनका अग्रदुत हुन् । शिक्षा, स्वास्थ्य,लैङ्िगक न्याय तथा प्राविधिक सुरक्षामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

प्रमुख अतिथि जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले भने, ‘मधेश बालिका सम्मेलन हाम्रो स्थानीय तहमा हुनु मेरो लागि गौरवको विषय हो । अहिले पनि मधेशमा बालिकाहरु दाइजो प्रथा, बालबिबाह, हिंसा लगायतका घटनाहरु भोग्नुपरेका छन् । जसको प्रत्यक्ष असर उहाँहरुको जीवन माथि पर्ने गएकोले यो सम्मेलन बालिकाहरुको नेतृत्व बिकास, सशक्तिकरणमा पहुँच हुनेछ ।’

उक्त दुईदिने सम्मेलनमा बालबालिकाहरुले अनुभव आदानप्रदान गरिएको छ भने अगामी रणनीति निर्माणमा सहभागिता, मानसिक स्वास्थ्य हेरचाह तथा स्वहेरचाह, डिजिटल सुरक्षा जस्ता सबालहरुमा छलफल भएको थियो । साथै यो सम्मेलनले समाजमा रहेका बालबालिकाहरुलाई सकारात्मक सन्देश दिने लक्ष्य रहेको कुरा हाम्रो प्रयास संस्थाका प्रबन्धक ओम प्रकाश गिरिले जानकारी गराए ।

उक्त दुईदिने सम्मेलनमा बालिकाहरुले वर्तमान अवस्थामा भोग्नुपरेका जटिल समस्या बालबिबाह, दाइजो प्रथा र हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक, सामुहिक बहस लगायत विभिन्न कार्यक्रम गरी सप्पन्न गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ