उपराष्ट्रपति यादवसँग भारतीय निमित्त राजदूत पाण्डेको शिष्टाचार भेट

समाचार

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गरेका छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, सहयोग तथा अन्य विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति स्वकीय प्रेस संयोजक दिनेश यादवले जनाएका छन् ।

उपराष्ट्रपति यादवले नेपाल–भारत सम्बन्ध सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, प्राविधिक तथा जनस्तरमा सदियौंदेखि प्रगाढ रहिआएको उल्लेख गरे । उनले नेपाल–भारत सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताउँदै नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए । साथै, भारत सरकारले ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत छिमेकीहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेकोमा उनले खुशी व्यक्त गरे ।

उपराष्ट्रपति यादवले भारत नेपालको एक महत्वपूर्ण विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै आर्थिक तथा प्राविधिकसहित विभिन्न क्षेत्रमा भारतले पुर्याउँदै आएको उल्लेखनीय सहयोगप्रति धन्यवाद समेत व्यक्त गरे । उनले निमित्त राजदूत डा. पाण्डेमार्फत भारतका उपराष्ट्रपति सि. पि. राधाकृष्णनको सुस्वास्थ्य तथा भारतीय जनताको प्रगति र समृद्धिको शुभकामना दिए ।

उक्त अवसरमा भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले नेपाललाई भारतले हरेक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए । उनले विशेषगरी खेलकूदको क्षेत्र, विशेषतः क्रिकेटमा सहयोग गर्न भारत इच्छुक रहेको उल्लेख गर्दै नेपालका रेलवे क्षेत्रमा समेत सक्दो सहयोग गर्न भारत तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ