महोत्तरी–३ मा संघीय गणतान्त्रिक गठबन्धनको चुनावी अभियान तीव्र

समाचार

महोत्तरी । संघीय गणतान्त्रिक गठबन्धनका संयुक्त उम्मेदवार पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष मो. रिजवान अन्सारीले महोत्तरी जिल्लाको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रचार–प्रसार अभियानलाई तीव्ररूपमा अघि बढाएका छन् ।

बुधबारदेखि औपचारिक रूपमा सुरु भएको अभियानअन्तर्गत विभिन्न स्थानमा आयोजित जनभेटघाट, कोणसभा तथा अन्तरक्रियात्मक कार्यक्रमहरूमा गठबन्धनका नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको छ ।

कार्यक्रममा नेपाल जनजागृति पार्टीका अध्यक्ष डा. ध्रुवलाल निषाद र नेपाल संघीय समाजवादी पार्टीकी नेत्री एवं मधेश प्रदेशकी पूर्वगृहमन्त्रीको समेत उपस्थिति रहेको थियो ।

उपस्थित नेताहरूले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायको रक्षा आजको प्रमुख आवश्यकता रहेको बताउँदै बाहिरी शक्तिहरूबाट देशको सार्वभौमिकता, स्वाधीनता र लोकतान्त्रिक व्यवस्थामाथि भइरहेको षड्यन्त्रविरुद्ध एकताबद्ध हुन आह्वान गरे ।

वक्ताहरूले जनताको अधिकार, संविधानको रक्षा र देशलाई सुरक्षित भविष्यतर्फ अघि बढाउनका लागि संघीय गणतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रिजवान अन्सारीलाई ‘बस’ छापमा अत्यधिक मतले विजयी गराउन महोत्तरी क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदातासमक्ष आग्रह गरे ।

चुनावी अभियान आगामी दिनहरूमा अझ सशक्त र व्यापक बनाउँदै लैजाने गठबन्धनको तयारी रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ