भारतीय सैन्य शक्ति र राष्ट्रिय सुरक्षाको अग्रपङ्क्तिमा नेपालीहरूको साहस र वीरता

समाचार

काठमाडौं । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरेसन एन्ड एंगेजमेन्ट (एनआईआईसीई) ले “क्षेत्रीय सहनशीलताः नेपाल– भारत सुरक्षा सहकार्य सुदृढीकरण” विषयमा नेपाल–भारत थिङ्क ट्याङ्क फोरम आयोजना गरेको थियो । कार्यक्रममा भारत र नेपालका प्रमुख थिङ्क ट्याङ्कका वरिष्ठ विज्ञहरूको सहभागिता रहेको थियो।

भारतको सबैभन्दा पुरानो थिङ्क ट्याङ्क ‘युनाइटेड सर्भिस इन्स्टिच्युट अफ इन्डिया’ का महानिर्देशक (सेवानिवृत्त) उप–एडमिरल सञ्जय जसजीत सिंहले “नेपालीहरूको साहस र वीरता भारतीय सैन्य शक्ति र राष्ट्रिय सुरक्षाको अग्रपङ्क्तिमा रहँदै आएको छ” भन्ने कुरा व्यक्त गरे ।

उनले अग्निवीर योजना नेपाली नागरिकका लागि पनि भारतीय नागरिकसरह खुला रहेको र यो सन् १९७० पूर्वको गैर–पेन्सनयोग्य कलर सेवा जस्तै रहेको बताए। यस योजनाले अनुशासित, प्रेरित र सशक्त युवाशक्तिमार्फत मानव पूँजीमा लगानी गर्ने अवसर प्रदान गर्ने र यसले समाजलाई अझ सबल र समृद्ध बनाउने उल्लेख गरे ।

भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा NatStrat का संयोजक राजदूत पंकज सरनले नेपाली युवाहरूसँगको अन्तरक्रियाबाट आफू प्रभावित भएको बताए। उनले नेपाल र भारत दुवै देशका युवाहरूले नेपाल–भ –भारत सम्बन्धको भविष्य निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

इन्डिया फाउन्डेसनका कार्यकारी उपाध्यक्ष आलोक बन्सलले भारत सीमापार आतंकवादको प्रमुख पीडित राष्ट्र भएको र यसको प्रभाव नेपालमा पनि पर्ने बताए।

जवाहरलाल नेहरू विश्वविद्यालयकी प्राध्यापक सङ्गीता थप्लियालले नेपाल–भारत सम्बन्धलाई थिङ्क ट्याङ्क र शैक्षिक संस्थाहरूको कार्यले लाभ पुर्याएको उल्लेख गर्दै सहकार्य सुदृढ गर्ने ठूलो सम्भावना रहेको बताइन् । उनले दुवै देशका सरकारले थिङ्क ट्याङ्क र अनुसन्धानलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन्।

काउन्सिल फर स्ट्राटेजिक एन्ड डिफेन्स रिसर्चका सह–संस्थापक डा. गौरव सैनीले भारत–नेपाल सीमा गहिरो व्यापारिक, सांस्कृतिक र जनस्तरको सम्बन्धका कारण विशिष्ट रहेको तर यसको खुला प्रकृतिले साझा सुरक्षा चुनौती पनि सिर्जना गर्ने बताए । उनले मानव तस्करी, लागुऔषध ओसारपसार र नक्कली मुद्रालाई दुवै देशलाई प्रभावित गर्ने अन्तर्राष्ट्रिय अपराधका रूपमा उल्लेख गर्दै जनवरी २०२६ मा बिहार प्रहरीले नक्कली नेपाली मुद्रा बरामद गरेको घटना उदाहरणका रूपमा प्रस्तुत गरे।

डा. सैनीले नियन्त्रणभन्दा सहकार्यमा जोड दिँदै सामाजिक तथा धार्मिक संस्थाहरूमा पारदर्शिता बढाउन र डिजिटल सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । विशेषगरी सीमाविहीन अनलाइन क्षेत्रमा फैलिने भ्रामक सूचनाले, खासगरी युवाको नेतृत्वमा हुने सक्रियताका क्रममा, अनपेक्षित रूपमा सुरक्षा र आर्थिक जोखिम सिर्जना गर्न सक्ने बताए। उनले स्थानीय तहमा संयुक्त साइबर सचेतना कार्यक्रम सञ्चालन गर्न र सीमा खुलापन कायम राख्दै साझा हित सुरक्षित गर्ने स्मार्ट सुरक्षा संयन्त्र विकास गर्न सिफारिस गरे।

राजनीतिक तथा सुरक्षा विश्लेषक (सेवानिवृत्त) मेजर जनरल विनोज बस्न्यातले नेपालमा ‘जेन–जेड’ प्रदर्शन अप्रत्याशित नभए पनि यसको विकसित हुने तरिका आश्चर्यजनक रहेको बताए।

उनले निर्वाचनको महत्त्व औंल्याउँदै केवल निर्वाचनले रणनीतिक स्थिरता सुनिश्चित गर्छ कि गर्दैन भन्ने प्रश्न उठाए। पुस्तान्तरण र संस्थागत सुधारबिना निर्वाचनले पुरानै चक्र दोहोर्याउन सक्ने चेतावनी दिँदै उनले निर्वाचनपछिको अवस्थालाई “रणनीतिक समाधानभन्दा रणनीतिक विश्राम“ का रूपमा व्याख्या गरे र समावेशी संवादको आवश्यकता औंल्याए।

एनआईआईसीई का कार्यक्रम संयोजक विवेक धोज थापाले भारतलाई उपनिवेशपछिको शक्ति नभई रणनीतिक साझेदारका रूपमा हेर्दै, नेपाल–भारत सम्बन्धले उदीयमान युवा जनसंख्यासँगको साझेदारीमा केन्द्रित हुनुपर्ने बताए। जलस्रोत व्यवस्थापन, जलवायु परिवर्तन र सुरक्षा जस्ता साझा चुनौतीहरू उल्लेख गर्दै उनले ’भारत– नेपाल युवा जलवायु फेलोशिप’ जस्ता पहल र सौम्य शक्ति (सफ्ट पावर) मार्फत सहकार्य विस्तार गर्न सुझाव दिए ।

एनआईआईसीई की निर्देशक सुमित्रा कार्कीले द्विपक्षीय सम्बन्ध सुदृढ गर्न शैक्षिक तथा नीतिगत तहमा सक्रिय संलग्नताको आवश्यकता औंल्याइन्। उनले भारत सरकारले भारतमा नेपाल अध्ययनलाई र नेपाल सरकारले स्वदेशमा भारत अध्ययनलाई प्रोत्साहन गर्नुपर्नेमा दृढ विश्वास व्यक्त गर्दै ज्ञान आदानप्रदान र संस्थागत सहयोगले मात्र दुई राष्ट्रबीचको पारस्परिक समझदारी अभिवृद्धि गर्न सक्ने बताइन्।

वक्ताहरूले परम्परागत तथा गैर–परम्परागत सुरक्षा चुनौतीहरूको सामना गर्न नेपाल र भारतबीच सुरक्षा हितमा अभिसरण, सहकार्यको निरन्तरता र नीतिगत समन्वयको महत्त्वमा सामूहिक जोड दिएका थिए । कार्यक्रम अन्त्यमा रक्षा सहकार्य, क्षेत्रीय स्थिरता र सहकार्यका सम्भावनाबारे अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ