काठमाडौं । लागुऔषधसहित एक होस्टेल सञ्चालिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलको आडमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ती महिलालाई प्रहरीले पक्राउ गरेको हो काठमाडौं महानगरपालिका–३१, कात्यानी चोकस्थित न्यू कस्यप ब्याइज होस्टलकी सञ्चालिका ४५ वर्षीया मायाकुमारी देवी मिश्र पक्राउ परेकी हुन् ।
प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले मंगलबार साँझ होस्टेलमा छापा मार्ने क्रममा काउन्टरमा लागूऔषध फेला परेपछि सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ की मिश्रलाई नियन्त्रणमा लिइएको बताइन्छ ।
स्रोतका अनुसार होस्टेलमा ब्राउन सुगर भेटिएपछि प्रहरीले ती महिलालाई नियन्त्रणमा लिएको छ । हाल उनी बानेश्वर प्रहरीको हिरासतमा छिन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले उनीउपर लागुऔषध कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया