काठमाडौं । तराई–मधेश लोकतान्त्रिक पार्टीले जनता समाजवादी पार्टी नेपालसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको छ ।
तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले आइतबार प्रेस विज्ञप्ति जारी गरी तमलोपाको केन्द्रीय कार्यसमितिका नेताहरुको सहमतिअनुसार राजनीतिक मर्यादा, आत्मसम्मान र संस्थागत मूल्यको महत्वलाई ध्यानमा राखी गत पुस २७ गते एकीकृत जसपा नेपालसँग तमलोपाको कुनै सम्बन्ध नरहेको बताएका हुन् ।
संघिय लोकतान्त्रिक गणतन्त्र तथा सिमान्तिकरणमा पारिएका मधेशी, थरुहट, आदिवासी– जनजाति, दलित, मुस्लिम लगायतकाहरुको एजेन्डाप्रति प्रतिवद्ध राजनीतिक शक्तिहरुको बृहत् राजनीतिक शक्ति निर्माण गर्न लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टी एकीकृत हुने सहमति भएको थियो तर त्यस अनुसार एकीकरणको प्रक्रिया पूरा हुन नसकेको गुनासो अध्यक्ष लालले गरेका छन् ।
तमलोपा अध्यक्ष लालले भनेका छन्, ‘मिति २०८२ ÷०९÷२७ गते लोसपा र जसपाको एकीकरण भयो जसको सहमति तथा त्यस पश्चात् एकीकरणको प्रक्रियामा समेत तराई–मधेश लोकतान्त्रिक पार्टीको संस्थागत सहभागिता गराइएन । मधेशी लगायत सिमान्तिकरणमा पारिएकाहरुको एजेन्डा सहित बृहत् राजनीतिक शक्ति निर्माण गरी विगतमा भएका त्रुटिहरुमा सुधारको सन्देश सहित एकजूट भई आगाडि बढ्ने मानसिकता समेत देखिएन ।’
तमलोपा मधेशी, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम लगायतकाहरुको एजेन्डाको निमित्त निरन्तर कार्यरत रहिरहने प्रतिवद्धता व्यक्त गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा गणतन्त्र, संघियता र समावेशी लोकतन्त्र प्रति आस्था राख्ने उम्मेदवारलाई मतदान गर्न अपील गरेका छन् ।
तपाईको प्रतिक्रिया