काठमाडौँ। राष्ट्रिय एकता दलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउने सोमबारका अवसरमा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दलले घटनाको निष्पक्ष छानबिन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
दलका केन्द्रीय अध्यक्ष विनय यादवले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा बोलबम यात्राको तयारीका क्रममा मन्दिर परिसरमा भएको घटनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर परेको उल्लेख गरिएको छ। विज्ञप्तिमा मन्दिर परिसरमा धार्मिक झण्डा च्यातिएको र श्रद्धालुमाथि आक्रमण भएको दाबी गर्दै त्यसको कडा निन्दा गरिएको छ।
दलका अनुसार घटनाका क्रममा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता र सुनिलकुमार मेहता लगायत अन्य स्थानीय घाइते भएका छन्। विज्ञप्तिमा घटनाको क्रममा करिब एक घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध भएको तथा भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गरिएको दाबी गर्दै त्यसबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय एकता दलले केही सञ्चारमाध्यमले घटनाको समग्र पृष्ठभूमिभन्दा डीजे (ध्वनि) सम्बन्धी विषयलाई मात्र प्राथमिकता दिएको भन्दै असन्तुष्टि जनाएको छ। दलले तथ्यमा आधारित, सन्तुलित र निष्पक्ष समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेको छ।
दलले सरकारसमक्ष मृतक ओमप्रकाश मेहताका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्न, उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न तथा घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेको छ। साथै, धार्मिक स्वतन्त्रता, धार्मिक परम्पराको सुरक्षित अभ्यास तथा धार्मिक स्थल र श्रद्धालुहरूको सुरक्षाको प्रत्याभूति गर्न पनि सरकारसँग आग्रह गरिएको छ।
विज्ञप्तिको अन्त्यमा राष्ट्रिय एकता दलले सबै पक्षलाई संयम अपनाउन, सामाजिक सद्भाव र शान्ति कायम राख्न तथा कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत न्याय सुनिश्चित गर्न सहयोग गर्न आह्वान गरेको छ।
तपाईको प्रतिक्रिया