‘संकटमा हाम्रो परिचय एउटै हो—हामी नेपाली हौँ’ : रिजवान अन्सारी

समाचार

सर्लाही । देशका विभिन्न भूभागमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित बनेपछि पीडितहरूको राहत तथा उद्धारका लागि देशभर मानवीय सहयोग जुटाउने अभियान तीव्र बनेको छ। यसैक्रममा मुस्लिम शान्ति समाज, सर्लाहीको पहलमा मलंगवा लगायत विभिन्न स्थानबाट संकलित राहत सामग्री आज रसुवाका बाढीपीडितका लागि पठाइएको छ।

मलंगवाबाट राहत सामग्री बोकेको गाडी रसुवातर्फ प्रस्थान गर्ने क्रममा आयोजित बिदाइ कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व राज्यमन्त्री रिजवान अन्सारी, मधेश प्रदेशकी पूर्व गृहमन्त्री, कानून तथा सञ्चारमन्त्री बिमला अन्सारी, समाजसेवी डा. अब्दुर रहिम मिक्रानी, युवा नेता समीर मिक्रानी, मैनुद्दिन अन्सारी लगायतको उपस्थिति रहेको थियो।

राहत सामग्री हस्तान्तरण तथा बिदाइ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष रिजवान अन्सारीले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।

अन्सारीले बाढीबाट प्रभावित नागरिकको पीडा कुनै एक क्षेत्र, समुदाय वा वर्गको मात्र पीडा नभएको भन्दै सम्पूर्ण राष्ट्रको पीडा र साझा राष्ट्रिय संकटका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।

“आज देशको एउटा भूभागमा आएको विपत्ति त्यहाँका नागरिकको मात्रै समस्या होइन, यो सिंगो नेपालको पीडा हो। पीडितको आँसुमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक दलको सीमा हुँदैन। त्यसैले विपत्तिको यस महासंकटमा हामी सबै नेपाली एउटै परिवारका सदस्यझैँ एकजुट भएर पीडितको साथमा उभिनुपर्छ,” अध्यक्ष अन्सारीले भने।

उनले विपद्को घडीमा राजनीतिक आस्था, धार्मिक तथा जातीय पहिचान र क्षेत्रीय विभाजनभन्दा माथि उठेर मानवता र राष्ट्रिय एकतालाई पहिलो प्राथमिकता दिन सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सामाजिक संघसंस्था, धार्मिक समुदाय तथा आम नागरिकलाई आह्वान गरे।

“हामी फरक विचार र फरक पहिचान बोकेका हुन सक्छौँ, तर संकटको समयमा हाम्रो परिचय एउटै हो—हामी नेपाली हौँ। आज हामीबीचको दूरी होइन, हाम्रो एकता पीडित नागरिकको सबैभन्दा ठूलो शक्ति बन्नुपर्छ,” अन्सारीले जोड दिए।

अध्यक्ष अन्सारीले बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि देशभित्र तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था, सामाजिक अभियन्ता तथा समुदायप्रति आभार व्यक्त गर्दै अझै ठूलो सहयोगको आवश्यकता रहेको बताए।

उनले “संकटमा परेका नागरिकलाई सहयोग गर्नु केवल सामाजिक दायित्व मात्र नभई मानवीय धर्म र राष्ट्रिय कर्तव्यसमेत हो” भन्दै सक्ने सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत अभियानमा योगदान गर्न आग्रह गरे।

मुस्लिम शान्ति समाज, सर्लाहीका जिल्ला अध्यक्ष अब्दुल अजीज छोटेको नेतृत्वमा राहत संकलन तथा व्यवस्थापनमा सक्रिय मैनुद्दिन अन्सारी, सलमान मिक्रानी लगायत अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा शुभेच्छुकहरूलाई अध्यक्ष अन्सारीले विशेष धन्यवाद व्यक्त गरे।

उनले मानवीय सेवाको यस अभियानलाई एकपटकको कार्यक्रमका रूपमा सीमित नगरी राहत, उद्धार र पुनर्स्थापनाको आवश्यकता रहुन्जेल निरन्तर अगाडि बढाउनुपर्ने बताए। साथै आफ्नो पार्टीका नेता–कार्यकर्ता तथा सम्पूर्ण राजनीतिक दलका पंक्तिलाई समेत विपद् प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालित हुन आग्रह गरे।

“आज हामीले रसुवातर्फ पठाएको यो राहत सामग्री केवल खाद्यान्न वा आवश्यक वस्तु होइन, यो मलंगवाबाट रसुवासम्म पुगेको नेपाली एकता, सद्भाव र मानवताको सन्देश हो। देशको जुनसुकै कुनामा नेपाली नागरिक पीडामा पर्दा अर्को कुनाको नेपालीले आफ्नो पीडा सम्झेर सहयोग गर्ने संस्कारलाई अझ बलियो बनाउनुपर्छ,” अन्सारीले भने।

मलंगवाबाट रसुवातर्फ पठाइएको राहत सामग्री चार सदस्यीय टोलीले लिएर गएको जनाइएको छ। मुस्लिम शान्ति समाजले आगामी दिनमा पनि बाढीपीडित तथा विपद्बाट प्रभावित नागरिकका लागि राहत संकलन तथा सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ।

विपत्तिमा विभाजित होइन, एकताबद्ध बनौँ—पीडितको आँसु पुछ्न सिंगो राष्ट्र एकजुट बनौँ भन्ने सन्देशसहित मलंगवाबाट सुरु भएको यो राहत अभियान राष्ट्रिय एकताको उदाहरण बनेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ