बाढी–पहिरो पीडितको उद्धार र राहतमा नेपाल संघीय समाजवादी पार्टी सक्रिय

सरकारको उद्धार प्रयासप्रति प्रश्न, राष्ट्रिय एकताका साथ विपत्तिको सामना गर्न पार्टीको अपिल

समाचार

काठमाडौं । देशका विभिन्न भागमा हालै आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिका कारण भएको ठूलो जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

पार्टीका कारवाहक महासचिव जनकबहादुर कार्कीले जारी गरेको वक्तव्यमा विपत्तिको यस अत्यन्त संवेदनशील घडीमा राज्यले उद्धार तथा राहतका लागि पहल गरे पनि जुन स्तरको तत्परता, समन्वय र प्रभावकारिता आवश्यक थियो, त्यो हुन नसकेको उल्लेख गरिएको छ।

विपद्को समयमा सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै पार्टीले राज्यका सबै संयन्त्र, राजनीतिक दल, सामाजिक संघसंस्था, नागरिक समाज, युवा तथा स्वयंसेवी समूहलाई तत्काल र निर्बाध रूपमा परिचालन गर्नुपर्नेमा जोड दिएको छ। उद्धार तथा राहत कार्यमा सबै पक्षलाई प्रभावकारी ढंगले परिचालन गर्न नसक्दा अझै पनि धेरै नागरिक पीडा, भोक, विस्थापन र असुरक्षाबीच बस्न बाध्य भएको पार्टीको भनाइ छ।

पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै “समयमै उद्धार र राहत पुग्न सकेको भए अझै धेरै जीवन जोगाउन सकिन्थ्यो” भन्ने पीडित तथा प्रभावित नागरिकको अनुभूतिलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ। विपद्को समयमा सबै क्षेत्र र शक्तिलाई एकीकृत गरी परिचालन गर्नुपर्नेमा सरकारी संयन्त्रले त्यसअनुसार समन्वय गर्न नसकेको विषयलाई पार्टीले गम्भीर कमजोरीका रूपमा लिएको छ।

यसैबीच, नेपाल संघीय समाजवादी पार्टीले आफ्नो राजनीतिक जिम्मेवारीसँगै मानवीय दायित्वलाई समेत प्राथमिकतामा राख्दै देशभर राहत संकलन तथा वितरण अभियान सञ्चालन गरिरहेको जनाएको छ। पार्टीका कारवाहक महासचिव जनकबहादुर कार्कीको नेतृत्वमा राहत सामग्री नुवाकोट जिल्लाका बाढी तथा पहिरो प्रभावित पीडितहरूका लागि पठाई हस्तान्तरण गरिएको छ।

नुवाकोटको जनजाति माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टर तथा विदुर नगरपालिकास्थित जिल्ला समन्वय समितिका पदाधिकारीहरूको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको हो।

राहत हस्तान्तरण कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका विजय डंगोल, रेणु डंगोल, सुरेन्द्र प्रधान, राजेन्द्रराम, इन्दु खत्री र प्रेमा मगर लगायतका नेताहरू तथा कार्यकर्ताहरू सहभागी थिए। करिब २० जनाको संयुक्त टोली राहत संकलन, ढुवानी तथा हस्तान्तरण कार्यमा प्रत्यक्ष रूपमा खटिएको थियो।
नेपाल संघीय समाजवादी पार्टीको पहलमा राहत सामग्री नुवाकोटका बाढी तथा पहिरो पीडितहरूका लागि हस्तान्तरण गरिएको पार्टीले जनाएको छ।

यसैगरी, पार्टीका उपमहासचिव सुरेन्द्र प्रधानको नेतृत्वमा तथा स्थायी कमिटी सदस्य राजेन्द्ररामको समेत सहभागितामा अर्को टोली रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थलगत रूपमा पुगेर पीडितहरूको अवस्था बुझ्ने, राहतको आवश्यकता पहिचान गर्ने तथा उद्धार तथा राहत कार्यमा प्रत्यक्ष रूपमा खटिरहेको छ।

स्थलगत अवलोकनका क्रममा अझै पनि धेरै प्रभावित परिवारले पर्याप्त राहत प्राप्त गर्न नसकेको र कतिपय स्थानमा आधारभूत आवश्यकताका सामग्रीको समेत अभाव रहेको पाइएको पार्टीले जनाएको छ। हालसम्म संकलित राहत सामग्री पीडितको आवश्यकता र विपत्तिको व्यापकता हेर्दा अझै पर्याप्त नरहेको भन्दै पार्टीले राहत संकलन अभियानलाई थप व्यापक बनाउनुपर्नेमा जोड दिएको छ।

पार्टीले देशमा आएको यस महाविपत्तिलाई कुनै राजनीतिक, जातीय, धार्मिक वा क्षेत्रीय सीमाभन्दा माथि उठेर मानवीय संकटका रूपमा लिनुपर्ने बताएको छ। संकटको यस घडीमा सिंगो देश एकजुट भएर पीडित नागरिकको साथमा उभिनुपर्ने भन्दै पार्टीले सम्पूर्ण नेपालीमा भावपूर्ण अपिल गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले देशभरिका पार्टी पंक्ति, राजनीतिक दल, नागरिक समाज, सामाजिक संघसंस्था, युवा तथा विद्यार्थी संगठन, विभिन्न जातजाति र धर्मका अगुवा, उद्योगी–व्यवसायी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई राहत संकलन र पीडितसम्म राहत पुर्‍याउने अभियानमा उदारतापूर्वक सहभागी हुन आह्वान गरेको छ।

पार्टीले विपत्तिको यस कठिन समयमा देशभित्र र विदेशबाट प्राप्त भइरहेको सहयोग, सद्भाव र मानवीय समर्पणप्रति हार्दिक आभार व्यक्त गरेको छ। दुःखमा परेका नागरिकलाई सहयोग गर्नु नै आजको सबैभन्दा ठूलो मानवीय धर्म भएको उल्लेख गर्दै पार्टीले सहयोगका लागि हातेमालो गर्ने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गरेको छ।

“विपत्तिले हामीलाई विभाजित होइन, अझ बलियो रूपमा एकताबद्ध बनाउनुपर्छ” भन्ने भावनासहित पार्टीले अहिलेको संकटबाट प्रभावित नागरिकलाई तत्काल राहत, त्यसपछि पुनर्स्थापना र दीर्घकालीन रूपमा पुनर्निर्माणको अभियानमा समेत निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले बाढी–पहिरोबाट प्रभावित नागरिकको पीडा आफ्नो पीडा भएको उल्लेख गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको सम्पूर्ण प्रक्रियामा पीडित नागरिकको साथ नछोड्ने दृढ प्रतिबद्धता जनाएको छ।

पार्टीले यस विपत्तिको घडीमा सबै राजनीतिक मतभेद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर “पहिले मानवता, त्यसपछि राजनीति” भन्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ। देश र जनता संकटमा परेको बेला एक–अर्काको हात समातेर अघि बढ्नु नै राष्ट्रिय एकताको वास्तविक परिचय भएको भन्दै पार्टीले सिंगो राष्ट्र एकताबद्ध भएर यस महाविपत्तिको सामना गर्नुपर्नेमा जोड दिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ