जेएनजी आन्दोलन स्मृति दिवसमा जनकपुरधाममा मानव अधिकारसम्बन्धी अन्तरक्रिया

समाचार

जनकपुरधाम । प्रथम जेएनजी आन्दोलन स्मृति दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधाम समूह–५७ ले मानव अधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधाममा आयोजित कार्यक्रममा आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमनसम्बन्धी अनुसन्धानात्मक सामग्रीसमेत आयोगलाई हस्तान्तरण गरिएको छ।

एम्नेस्टी इन्टरनेसनल नेपालले तयार पारेको ‘हामी त्यहाँ हाम्रो आवाज उठाउन सकेका थियौँ, मारिएका होइनौँ—प्रदर्शनकारीहरूको नेपालमा भएको घातक दमन’ शीर्षकको अनुसन्धानात्मक सामग्री तथा जानकारीमूलक पुस्तक आयोगलाई हस्तान्तरण गरिएको हो। पुस्तकमा प्रदर्शनका क्रममा भएका घटना, मानव अधिकारको अवस्था तथा प्रदर्शनकारीमाथि भएको दमनसँग सम्बन्धित विषय समेटिएको जनाइएको छ।

कार्यक्रम एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामका अध्यक्ष मनीष झा (श्रीओम)को अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल जनकपुरधामका सल्लाहकार प्राध्यापक डा. सुशील कुमार यादव विशेष अतिथिका रूपमा सहभागी थिए।

राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव जीवन न्यौपानेले आयोगको भूमिका, कार्यक्षेत्र तथा मानव अधिकार संरक्षणका विषयमा जानकारी गराउँदै सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए। त्यस्तै, एम्नेस्टी इन्टरनेसनल नेपालका सल्लाहकार कमल साहले संस्थाको उद्देश्य, गतिविधि तथा मानव अधिकार संरक्षणमा यसको भूमिकाबारे धारणा राखेका थिए।

विशेष अतिथि प्राध्यापक डा. सुशील कुमार यादवले मानव अधिकार संरक्षण, जेएनजी आन्दोलनको स्मरण तथा यसको महत्त्वबारे चर्चा गरे। सो अवसरमा उनले नयाँ सदस्यहरू डा. बिनय कुमार झा र उदय नारायण यादवलाई एम्नेस्टी इन्टरनेसनलको सदस्यता कार्ड हस्तान्तरण गरेका थिए।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल जनकपुरधामका सचिव अम्बिका प्रसाद कर्ण, जनकपुर उपमहानगरपालिकाका कार्यकारिणी समिति सदस्य फुलकुमारी साह, जिरोमाइल कमिटीका अध्यक्ष शिवशंकर मिश्र, सञ्जीव महासेठ, सहप्राध्यापक डा. बिनय झा, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत किरण प्रसाद घिमिरे, एम्नेस्टी इन्टरनेसनलका सदस्य तथा लेक्चरर उदयचन्द्र यादव, कैलास प्रसाद महतोलगायतले मन्तव्य राखेका थिए।

वक्ताहरूले एम्नेस्टी इन्टरनेसनलको उद्देश्य तथा मानव अधिकार संरक्षणमा संस्थाले खेल्दै आएको भूमिकाबारे चर्चा गर्दै जेएनजी आन्दोलनका प्रमुख कारण र आन्दोलनका क्रममा भएका घटनाको स्मरण गरेका थिए। उनीहरूले नेपालमा मानव अधिकारको वर्तमान अवस्थाबारे समेत धारणा राख्दै मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको सुनिश्चितताका लागि राज्य थप जिम्मेवार हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको प्रारम्भमा जेएनजी आन्दोलनका शहीदहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो। साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिएको थियो।

कार्यक्रमका सभापति तथा एम्नेस्टी इन्टरनेसनल जनकपुरधामका अध्यक्ष मनीष झा (श्रीओम)ले जेएनजी आन्दोलनको पृष्ठभूमि, यसको आवश्यकता तथा स्मरणको महत्त्वबारे धारणा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।

अन्त्यमा एम्नेस्टी इन्टरनेसनल जनकपुरधामको तर्फबाट सहभागी सदस्यहरूलाई मानव अधिकारसम्बन्धी हाते पुस्तिका वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ