कपिलवस्तु । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट प्रभावित तथा सहाराविहीन बनेका नागरिकको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन्।
जसपा नेपाल जिल्ला समितिले मंगलबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनर्स्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
उनले विपत्तिका कारण घरबारविहीन तथा जीवनयापनमा कठिनाइ भोगिरहेका नागरिकलाई राज्यले बेवास्ता गर्न नहुने उल्लेख गर्दै प्रभावित परिवारको सुरक्षित पुनर्स्थापना र आवश्यक सहयोगका लागि प्रभावकारी योजना बनाउन सरकारसँग आग्रह गरे।
अध्यक्ष यादवले ठूला राष्ट्रहरूले गरेका गतिविधि तथा गल्तीको असर नेपालजस्ता साना मुलुकले समेत भोग्नुपरेको टिप्पणी गरे। प्राकृतिक विपत्तिबाट भएको क्षति र त्यसको प्रभावका विषयमा पीडित मुलुकका पक्षमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै अन्तर्राष्ट्रिय तहमा आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
यसका लागि नेपालले संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने यादवले बताए।
कार्यक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता, अगुवा कार्यकर्तालगायतको सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया