उत्पीडित जनताको मुक्ति नाराबाट होइन, आफ्नै राजनीतिक शक्ति निर्माणबाट सम्भव : बिमला अन्सारी

समाचार

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री बिमला अन्सारीले उत्पीडित जनताको मुक्ति केवल नाराबाजी वा चुनावका बेला मत मागेर सम्भव नहुने बताएकी छन्। त्यसका लागि राजनीतिक चेतना, बलियो संगठन, निरन्तर संघर्ष र आफ्नै राजनीतिक शक्ति निर्माण आवश्यक रहेको उनले जोड दिइन्।

अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै अन्सारीले उत्पीडित समुदाय अब अरूले दिएको प्रतिनिधित्वमा मात्र सीमित हुन नहुने बताइन्।

“अब उत्पीडित जनता अरूले दिएको प्रतिनिधित्वमा मात्र सीमित हुने होइनन्। आफ्नै राजनीतिक नेतृत्व, संगठन र राजनीतिक शक्ति निर्माण गर्दै राज्यसत्तामा समान र सम्मानजनक हिस्सेदारी स्थापित गर्नुपर्छ,” उनले भनिन्।

मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, थारू, निषाद, महिला तथा अन्य सीमान्तकृत समुदायले लामो समयदेखि अधिकार र सम्मानका लागि संघर्ष गर्दै आए पनि उनीहरूको आवाजलाई निर्णायक राजनीतिक शक्तिमा रूपान्तरण गर्न अझै धेरै काम गर्न बाँकी रहेको अन्सारीको भनाइ थियो।

उनले अग्रगामी मोर्चाको मुख्य आधार एकता, बलियो संगठन र जनताका वास्तविक मुद्दा हुनुपर्ने बताइन्। राष्ट्रिय तहदेखि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म संगठन विस्तार गर्दै जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या र आवश्यकता बुझ्नुपर्नेमा उनले जोड दिइन्।

संघीयता संविधानमा लेखिएको व्यवस्था मात्र नभई जनताको घरदैलोमा अधिकार पु¥याउने माध्यम हुनुपर्ने बताउँदै अन्सारीले संघीयतालाई थप अधिकारसम्पन्न, प्रभावकारी र जनमुखी बनाउनुपर्ने धारणा राखिन्।

अग्रगामी मोर्चा केवल चुनावी गठबन्धनमा सीमित हुन नहुने उनको भनाइ थियो। समानता, सामाजिक न्याय, समावेशिता, संघीयता, लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताका मूल्यलाई सशक्त बनाउने राजनीतिक अभियानका रूपमा मोर्चालाई अघि बढाउनुपर्ने उनले बताइन्।

मोर्चामा आबद्ध दलहरूबीच विचार र राजनीतिक दृष्टिकोणमा मतभिन्नता रहे पनि उत्पीडित जनताका साझा मुद्दामा एकताबद्ध भएर अघि बढ्नुपर्ने अन्सारीले बताइन्।

“व्यक्तिभन्दा माथि संगठन, संगठनभन्दा माथि विचार र विचारभन्दा माथि जनताको हितलाई राखेर अघि बढ्नुपर्छ,” उनले भनिन्।

कार्यक्रममा सहभागी वक्ताहरूले उत्पीडित तथा अधिकारबाट वञ्चित समुदायको राजनीतिक शक्ति निर्माणका लागि एकता, संगठन र राजनीतिक चेतना आवश्यक रहेको बताएका थिए। भेलाले उत्पीडित तथा सीमान्तकृत जनताको अधिकार, सामाजिक न्याय र समान प्रतिनिधित्व सुनिश्चित गर्न बलियो राजनीतिक शक्ति निर्माण गर्दै संगठनलाई प्रदेशदेखि वडा तहसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

कार्यक्रममा अग्रगामी मोर्चामा आबद्ध नौवटै राजनीतिक दलका राष्ट्रिय अध्यक्ष तथा शीर्ष नेतृत्वसहित मधेश प्रदेशका पूर्वमुख्यमन्त्रीहरू लालबाबु राउत, सरोजकुमार यादव र जितेन्द्रप्रसाद सोनल, पूर्वमन्त्रीहरू, प्रदेशसभाका पूर्व तथा वर्तमान सभामुख, वर्तमान तथा पूर्वउपसभामुख, प्रदेशसभा सदस्य, प्रदेश तथा जिल्ला तहका नेताहरू, पाँचै जिल्लाका अगुवा कार्यकर्ता तथा पालिका र वडा तहका प्रतिनिधिहरूको सहभागिता थियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ