रौतहटमा जलवायु–उत्थानशील स्वास्थ्य सेवाको नमुना, देशभर विस्तार गर्ने युएनएफपीएको तयारी

समाचार

रौतहट। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले रौतहटको ईशनाथ नगरपालिकास्थित औरैया प्रसूति केन्द्रलाई जलवायु–उत्थानशील स्वास्थ्य सेवाको नमुनाका रूपमा विकास गरेको छ। जलवायुजन्य विपद्का समयमा पनि मातृ तथा नवजात शिशुको स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सकिने प्रमाणित मोडेललाई देशभर विस्तार गर्ने उद्देश्यसहित युएनएफपीएले पहल अघि बढाएको हो।

औरैया प्रसूति केन्द्रमा आयोजित नीतिगत संवाद तथा स्थलगत भ्रमणका क्रममा सरकारी प्रतिनिधि, स्वास्थ्यकर्मी र सामुदायिक अगुवाहरूले यस मोडेलको अवलोकन गरेका थिए। जलवायु जोखिममा रहेका नेपालका अन्य क्षेत्रमा पनि यस्ता स्वास्थ्य पूर्वाधार विस्तार गर्ने कार्यदिशा तय गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो।

औरैया प्रसूति केन्द्रको भ्रमणपछि नेपालस्थित संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लिला पिटर्स याहियाले साना तथा लक्षित लगानीले मातृ स्वास्थ्य सेवामा उल्लेखनीय परिवर्तन ल्याउन सक्ने बताइन्। योग्य नर्सको उपस्थितिले ग्रामीण महिलाहरूमा विश्वास बढाएको र गर्भावस्था तथा सुत्केरीपछिको स्वास्थ्य सेवा लिन सहज भएको उनको भनाइ थियो।

ग्रामीण स्वास्थ्य संस्था, दक्ष स्वास्थ्यकर्मी र आवश्यक पूर्वाधारमा लगानी गर्दा जीवन बचाउन सकिने उल्लेख गर्दै उनले मातृ तथा प्राथमिक स्वास्थ्य सेवाका लागि आन्तरिक स्रोत परिचालन गर्नुपर्नेमा जोड दिइन्।

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमताको सुधार’ परियोजनाअन्तर्गत औरैया प्रसूति केन्द्रलाई जलवायु–उत्थानशील स्वास्थ्य सेवाको नमुनाका रूपमा विकास गरिएको हो। जलवायु जोखिमयुक्त तराई क्षेत्रमा रहेको यस केन्द्रमा विद्युत् ब्याकअप प्रणाली, चिकित्सकीय फोहोर व्यवस्थापन स्थल, भेन्टिलेसन तथा शीतलन प्रणाली र पानी शुद्धीकरण एकाइलगायतका सुविधा सुधार गरिएको छ।

युएनएफपीएले स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसँगको सहकार्यमा सञ्चालन गरेको यस परियोजनाले भौतिक पूर्वाधार सुधारसँगै स्थानीय तहको स्वामित्व र संस्थागत क्षमता अभिवृद्धिमा समेत जोड दिएको छ। स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका लागि मार्गदर्शन तयार गर्नुका साथै जलवायु–अनुकूलित स्वास्थ्य कार्ययोजना निर्माण गरिएको छ।

नेपालस्थित युएनएफपीएका उपप्रतिनिधि डा. बशीर नजीबले जलवायुजन्य विपद्ले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सेवामा पहुँच तीव्र रूपमा अवरुद्ध गर्न सक्ने बताए। उनका अनुसार १० भदौ २०८३ मा आएको बाढीले विपद्का बेला स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सक्ने पूर्वाधार र पूर्वतयारीको आवश्यकता थप स्पष्ट पारेको छ।

विपद्का लागि तयार र जलवायु–उत्थानशील स्वास्थ्य केन्द्र निर्माण गर्नु जीवन रक्षाका लागि अनिवार्य रहेको उल्लेख गर्दै उनले प्रमाणित मोडेललाई दिगो रूपमा सञ्चालन तथा देशव्यापी विस्तार गर्न सबै तहका सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

ईशनाथ नगरपालिकाकी उपप्रमुख कौशल्या देवीले चरम मौसमका बेला पनि गर्भवती महिला तथा नवजात शिशुले निर्बाध स्वास्थ्य सेवा प्राप्त गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। विपद् पूर्वतयारी सुदृढ गर्ने र आवश्यक परेको समयमा स्वास्थ्य संस्था सञ्चालनमा रहने सुनिश्चितता गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

यसअघि युएनएफपीएले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न मधेश प्रदेश सरकारलाई एक लाख अमेरिकी डलर बराबरका जीवनरक्षक औषधि तथा अत्यावश्यक उपकरण हस्तान्तरण गरेको थियो। जापान सरकारको आर्थिक सहयोगमा खरिद गरिएका ती सामग्री रौतहटका पाँचवटा स्वास्थ्य संस्थामा आकस्मिक प्रसूति तथा नवजात शिशु स्याहार सेवा सुदृढ गर्न वितरण गरिने जनाइएको छ।

सन् २०२५ मा सुरु भएको परियोजनाअन्तर्गत जलवायु जोखिममा रहेका जाजरकोट र रौतहट जिल्लाका २० स्वास्थ्य संस्थाको जोखिम मूल्याङ्कन गरिएको छ। त्यस्तै, १० वटा नमुना जलवायु–उत्थानशील स्वास्थ्य संस्था स्थापना गरिएको र नौवटा नगरपालिकास्तरीय जलवायु–अनुकूलित कार्ययोजना तयार गरिएको युएनएफपीएले जनाएको छ।

परियोजनाबाट प्राप्त अनुभव र प्रमाणले विपद् जोखिममा रहेका अन्य नगरपालिकामा पनि जलवायु–उत्थानशील स्वास्थ्य पूर्वाधार विस्तार गर्न सरकार तथा विकास साझेदारलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

जापान सरकारको आर्थिक सहयोगमा युएनएफपीएले जाजरकोट र रौतहटमा कार्यान्वयन गरिरहेको यस परियोजनाले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमबीच मातृ तथा नवजात शिशुको जीवनरक्षक स्वास्थ्य सेवा सुरक्षित र निरन्तर राख्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ