काठमाडौं । हुंकार मधेशले थरुहट–मधेशका २२ जिल्ला र काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २५ जिल्लामा सम्पर्क व्यक्ति तोकेको छ। संगठनको केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले विभिन्न जिल्लाका लागि सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको हो।
हुंकार मधेशले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार झापामा हिरा महतो (विकास), मोरङमा हिरालाल मण्डल, सुनसरीमा रामनारायण मेहता, उदयपुरमा प्रकाश काफ्ले, सप्तरीमा शैशव राजु र सिरहामा सरोज यादवलाई सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको छ।
त्यस्तै, धनुषामा श्याम चौधरी, महोत्तरीमा राजकुमार महतो, सर्लाहीमा ब्रजेन्द्र शर्मा, रौतहटमा राहुल झा, बारामा डा. आर.के. कश्यप, पर्सामा अनिरुद्ध प्रसाद सिंह र मकवानपुरमा सरोज धानुकलाई सम्पर्क व्यक्ति तोकिएको छ।
यसैगरी, चितवनमा हेमन्त कुमार, नवलपरासीमा ईश्वर चौधरी, रुपन्देहीमा राम रक्षा मौर्य, कपिलवस्तुमा दीपेन्द्र कुमार सिंह, दाङमा भगवान चिराग, बाँकेमा खुब्बु श्रीवास्तव, बर्दियामा आदर्श शुक्ला, कैलालीमा वीरबहादुर बडायक, कञ्चनपुरमा दयाराम चौधरी, काठमाडौंमा विमलेश मानव, ललितपुरमा प्रकृति दुलाल र भक्तपुरमा बालकृष्ण अवतारलाई जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ।
२०८३ असोज ९ गते घोषणा भएको हुंकार मधेशले यसअघि केन्द्रीय सहजकर्ता, प्रवक्ता र २१ जना विभागीय प्रमुख घोषणा गरिसकेको छ। पछिल्लो निर्णयसँगै संगठनले जिल्ला तहमा आफ्नो सम्पर्क र समन्वय विस्तार गर्ने तयारी गरेको देखिएको छ।
यसैबीच, हुंकार मधेशले आगामी मंसिरको पहिलो सातादेखि ‘हुंकार हुलाकी यात्रा’ सुरु गर्ने तयारी गरेको छ। यात्रालाई लक्षित गर्दै विभिन्न जिल्लामा अभियानसम्बन्धी तयारी बैठकहरू तीव्र रूपमा भइरहेको संगठनले जनाएको छ।
संगठनले थरुहट–मधेशको मौलिकता, अधिकार, सामाजिक न्याय, सुशासन र समृद्धिका विषयलाई प्राथमिकतामा राख्दै आफ्नो अभियान अघि बढाउने बताउँदै आएको छ। जिल्ला सम्पर्क व्यक्ति तोक्ने निर्णयलाई आगामी अभियान सञ्चालन तथा संगठन विस्तारका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया