राष्ट्रियसभा निर्वाचन आज, ३२ सदस्यका लागि मतदान हुने

समाचार

2/7/2018

काठमाडौं - राष्ट्रियसभा निर्वाचनका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदानका लागि बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ ।

संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा ५६ सदस्यका लागि निर्वाचन हुन्छ । जम्मा ५९ सदस्य रहेने सो सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्राबधान छ । प्रदेश नं. २ मा सबै सदस्य निर्विरोध निर्वाचित भएकाले बुधबार ६ वटा प्रदेशमा मात्रै निर्वाचन हुनेछ ।

साथै अन्य प्रदेशमा पनि गरेर कुल २४ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । अब ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका छन् ।

मतदानका लागि छ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मतदान गराउन १२ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ मा ललितपुरको पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिकका सार्वजनिक स्थानमा मतदान स्थल तोकिएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले मतदानमा ढुक्क भएर सहभागी हुन आह्वानसमेत गरेका छन् ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।

प्रदेश नं २ मा सबै निर्विरोध निर्वाचित भएकाले बुधबार बाँकी ६ प्रदेशका स्थानीय तहका एक हजार २३४ र प्रदेशसभाका ४४३ गरी कूल एक हजार ६७७ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । स्थानीय तहका पदाधिकारीको प्रत्येकको मतभार १८ र प्रदेशसभाका सदस्य प्रत्येकको मतभार ४८ हुने कानुनी प्रावधान छ ।

आयोगले निर्वाचनमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आपूm निर्वाचित भएको प्रमाणपत्र वा विकल्पमा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

मतदान सकिएलगत्तै मतगणना कार्य शुरु गर्न र मतगणना कार्यलाई निरन्तर जारी राखेर पूर्णता दिन सबै निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिइसकेको छ ।

आयोगले सकेसम्म बुधबार नै र नभए बिहीबारसम्म सबै पदको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ । आयोगले सातवटै प्रदेशको अन्तिम परिणाम प्राप्त गरेपछि आवश्यक तयारी पूरा गरी राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम यथाशीघ्र राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ