काठमाडौं : लगभग अन्तिम चरणमा पुगेको पार्टी एकता प्रकियालाई अन्तिम रुप दिनका लागि एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार पनि निर्णायक वार्तामा बसेका छन्।
मंगलबार अपरान्ह मानभवनस्थितएक व्यवसायीको घरमा ओली र प्रचण्डबीच छलफल थालेका छन्। एकतामा फाइलन डिल गर्न भनेर दुवै नेताहरु गोप्य वार्तामा बसेका हुन्। दुई अध्यक्षबीच सहमति भए मंगलबार नै पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया टुंगिनेछ। संयोजन समितिका सदस्यहरु शीर्ष वार्ताको नतिजा पर्खेर तयारी हालतमा बसेका छन्।
जनयुद्ध प्रारम्भ भएकै दिन एमाले र माओवादीबीचको प्रक्रिया टुंगो लाग्ने दाबी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। जनयुद्धको २३ औं वार्षिकोत्सवका अवसरमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता लगभग टुंगोमा पुगेको घोषणा गरेका थिए। प्रचण्डले सोमबार ओलीसँग भएको गोप्य वार्ता सकारात्मक रहेको र आजभोलिमा ब्रेक थ्रु हुने बताएका थिए।
पार्टी एकतालाई टुंगो लगाउन ओली र प्रचण्डबीच सोमबार मानभवनको गोप्यस्थानमा २ घन्टा लामो वार्ता भएको थियो। एकीकृत पार्टीलाई संयुक्त रुपमा नेतृत्व प्रदान गर्ने र त्यसका लागि दुवैजना अध्यक्ष वा सहअध्यक्ष हुने मोडलसहितको एकताको खाका तयार भएको छ। त्यसैगरी सरकारको नेतृत्व पनि ओलीले गर्ने र केही समय प्रचण्डलाई मौका दिने समझदारी बनेको छ। एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने लगायतका पक्षमा पनि सहमति भइसको छ।
सोमबार दुई अध्यक्षबीच बनेको समझदारमा थप गृहकार्य गरी संभवत: मंगलबार नै एकताको प्याकेजलाई अन्तिम रुप दिने पहल भइरहेको छ। त्यसका लागि दुवैतिरबाट कार्यदल खटिएको छ। निर्वाचन आयोगले बुधबार निर्वाचन अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार निर्माणको बाटो खुल्ने भएकोले एकता प्रकियालाई छिटो टुंग्याउन लागिएको हो।
तपाईको प्रतिक्रिया