काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना बनाएको छ।
महाशाखाले मंगलबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो।
सवारी साधन निषेध गरिएका स्थान
महाशाखाले चावहिलबाट मित्रपार्क हुँदै गौशालातर्फ, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला वनकालीतर्फ, सिफल चौरबाट जयबागेश्वरीतर्फ रोक लगाएको छ।

यस्तै, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ रोक लगाएको छ।
पशुपतिका दर्शनार्थीलाई पार्किङ व्यवस्था कहाँ?
दर्शनका लागि आउने दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा क्षेत्रमा, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशाला, पासवाहक सवारी साधनलाई कोषको कार्यालय बिसौनीको व्यवस्था गरेको छ।
यस्तै, गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने तीर्थयात्रीको सवारी साधनलाई गुह्यश्वरीपारि बिसौनीको व्यवस्था मिलाइएको छ।
वैकल्पिक रुट
पुरानो बसपार्क, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने सवारी साधन सोही मार्ग हुँदै पुरानो बसपार्क फिर्ता हुनुपर्ने, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोही मार्ग पुरानो बसपार्क फिर्ता हुने व्यवस्था मिलाइएको छ।

यसैगरी कालोपुल हुँदै कपन चल्ने सवारी साधन खानी विभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने व्यवस्था गरिएको छ।
महाशाखाले सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पो महेन्द्र सालिक, जय नेपाल, नक्साल, भगवतीबहाल, सानो गौचरण, सिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने व्यवस्था गरेको छ भने जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पो चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घन्टाघर हुँदै सुन्धारा चलाउने व्यवस्था मिलाएको छ।
जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक सवारी साधन चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानुपर्नेछ। कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधन कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज, गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जानुपर्नेछ।
गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने व्यवस्था गरेको छ।
तपाईको प्रतिक्रिया