भारतको आईसीआईसीआई बैंक अब नेपालमा पनि

अर्थ/वाणिज्य

1/7/2020

काठमाडौं, २२ पुस । भारतको निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक आईसीआईसीआईले नेपालमा प्रतिनिधि कार्यालय खोल्ने भएको छ । यसका लागि बैंकले गत जुनमा आशयपत्र (लेटर अफ इन्टेन्ट–एलओआई) पाइसकेको छ ।

एलओआई लिँदा ३ हजार अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था छ । उक्त पैसा तिरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिइसकेको छ ।

आईसीआईसीआई भारतको अन्तर्राष्ट्रिय वित्तीय सेवाप्रदायक कम्पनी हो । मुम्बइमा मुख्यालय भएको यो बैंक सम्पत्ती र बजार पुँजीकरणका आधारमा भारतको दोस्रो ठूलो बैंक हो । भारतीय रिजर्भ बैंकले आईसीआईसीआईलाई एसबीआई र एचडीएफसीसँगै वित्तीय प्रणालीकै महत्वपूर्ण बैंकको सूचीमा राखेको छ ।

आईसीआईसीआईले संसारभर इन्भेस्टमेन्ट कम्पनी, बिमा कम्पनी, भेन्चर क्यापिटल र सम्पत्ती व्यवस्थापन कम्पनी खडा गरेको छ । ४ हजार ८ सय ५० शाखा र १५ हजार ५ सय एटीएम बुथमार्फत यो बैंकले भारतसहित १७ मुलुकमा विशाल सञ्जाल फैलाएको छ ।

अमेरिका र क्यानडामा सहायक कम्पनी खोलेको आईसीआईसीआईले अमेरिका, सिंगापुर, हङकङ, कतार, ओमन, दुबई, चीन र दक्षिण अफ्रिकामा शाखा खोलेको छ ।

यो बैंकले आफ्नो बेलायति सहायक कम्पनीमार्फत जर्मनी र बेल्जियममा पनि शाखा खोलेको छ । संयुक्त अरब इमिरेट्स, बंगलादेश, मेलेसिया र इन्डोनेसियामा यसअघि नै बैंकले प्रतिनिधि कार्यालय स्थापना गरिसकेको छ ।

नेपालमा पनि छिट्टै प्रतिनिधि कार्यालय स्थापना गर्न बैंकले काम अघि बढाएको हो । नेपालमा यसअघि २०६७ असोजदेखि दुबइको मसरेक बैंकले प्रतिनिधि कार्यालय सञ्चालन गर्दै आएको छ । कतारको दोहा बैंकले पनि २०७४ वैशाखदेखि काठमाडौंमा यस्तो कार्यालय सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ