वाणिज्य बैंकले युवा लक्षित कार्यक्रम गर्ने

अर्थ/वाणिज्य

3/8/2020

पर्सा, २५ फागुन । राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न भन्दै प्रदेश २ मा युवा लक्षित कार्यक्रम गर्ने भएको छ । बैंकले शिक्षित तथा वेरोजगार युवालाई लक्षित गरी प्रदेश २ मा यस्तो कार्यक्रम गर्न लागेको हो ।

बैंकले प्रदेश १ र ३ मा भने यस्तो कार्यक्रम गरिसकेको जनाएको छ । प्रदेश २ मा गर्न थालेको कार्यक्रम तेस्रो कार्यक्रम भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए ।

फाइनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले यो कार्यक्रम युवावर्गलाई लक्षित गरी सातवटै प्रदेशमा गर्ने अभियानका साथ सुरु गरेको उनको भनाइ छ ।

बैंकले यहि फाल्गुन २१ गतेबाट फाल्गुन ३० सम्म निःशुल्क आवेदन लिइरहेको छ । वित्तीय क्षेत्रमा रोजगारी गर्न ईच्छुक युवा वर्गको लागि आह्वान गरिएका आवेदनमध्येबाट छनोट गरी टेक्निकल, व्यावहारिक र प्रयोगात्मक तालिम दिने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

बैंकले आह्वान गरेको समयमा निवेदन दिएर मापदण्ड पूरा गरेका ५० जना युवाहरुलाई छनोट गरी तालिममा सहभागी गराई नेपालमै सम्भवतः पहिलो पटक बैंकले निःशुल्क रुपमा युवा लक्षित रोजगारी उन्मुख तालिम दिन थालेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ