राज्य सञ्चालकहरूको नालायकी र निकम्मापनले व्यवस्था पनि बदनाम भो : सर्वेन्द्रनाथ शुक्ल

अन्तर्वार्ता

12/11/2020

० जनता समाजवादी पार्टी नेपालको समायोजन प्रक्रिया कहाँ पुग्यो ?

— केन्द्रमा जसपाको समायोजन सजिलै भयो । पूर्वराजपाभित्र समायोजन मिलाउन अलिकति समय लाग्यो । अहिले केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय समिति निर्माण भइसकेको छ । अब प्रदेशहरुको समायोजनमा अलि–अलि समस्या छ । पूर्वराजपाको जिल्ला समितिहरु एकत्रित भइसकेको थियो, प्रदेश र केन्द्रीय समिति हुन बाँकी रहेको अवस्थामा एकीकरणका कामहरु प्रारम्भ भए । त्यसैले राजपाले आफ्नो काम त्यही रोक्यो । प्रदेशको समायोजन समानताको आधारमा हुनुपर्छ । हाम्रो समायोजन निर्देशिकाले पनि भनेको छ कि केन्द्रीय कार्यकारिणी समितिले प्रदेशको समायोजन गर्नेछ, त्यो पनि समानताको आधारमा । पहाडमा पूर्वराजपाको संगठन छैन, त्यो हिसावले योग्यताको आधारमा समायोजन गरिनुपर्छ । त्यसैमा छलफल चलिरहेको छ । कोभिड–१९ ले गर्दा समायोजनको काममा बाधा आएको छ ।

सबै मधेशवादी दल र पहाडका पनि केही दलहरुलाई एक ठाउँमा ल्याउनु आफैमा नौलो अभ्यास थियो । यो नौलो अभ्यासको क्रममा त्यो पनि संक्रमणकालमा केही अप्ठ्याराहरु देखिएका छन् । ती अप्ठ्याराहरुको समाधानका लागि हामी प्रयासरत् छौं । जुन वैकल्पिक शक्ति बनाउन हामीले कल्पना गरेका हौं, त्यसका लागि दुवै पक्षले आआफ्नो तर्फबाट सुनियतका साथ नियत नबिगारिकन इमान्दारीपूर्वक लाग्नुपर्छ ।

० जनवर्गीय संगठनहरुको समायोजन कहिले हुन्छ ?

— जनवर्गीय संगठनहरुको पनि समायोजनबारे हामी छलफल गर्दैछौं । हामी पूर्वराजपाका जनवर्गीय संगठनको लिष्ट तयार गर्दैछौं र पूर्वसमाजवादीले पनि तयार गर्दैछ । त्यसका लागि एउटा विभाग बनाइएको छ । जनवर्गीय संगठनहरुलाई छिट्टै समायोजन गर्नुपर्छ । किनभने मूल कुरा पार्टीको एकीकरण प्राथमिकता हो तर जनवर्गीय संगठन हाम्रो सक्रिय सहयोगी हो ।

० विगतमा राजपाले आफ्ना जनवर्गीय संगठनहरुको समायोजन गर्न सकेको थिएन, अहिले जसपा बनिसक्दा पनि त्यो समस्या त आउँदैन ?

— पूर्वराजपाका महिला र प्राध्यापक संगठन एकजुट भएर बसेका थिए । युवा र विद्यार्थी संगठनहरु पनि आआफ्नो ठाउँमा अलग–अलग देखिएका थिए तर सबै एक ठाउँमा राखियो भने आफै पनि एउटा शक्ति हुन्छ । समायोजन गर्दा मूलभूत कुरा भागवण्डाभन्दा पनि नेतृत्व योग्य को छन् उसले प्राथमिकता पाउनुपर्छ । विगतमा राजपाले विभिन्न कारणवश आफ्ना जनवर्गीय संगठनहरुको समायोजन गर्न सकेन भन्ने कुरा साँचो हो । तर ती जनवर्गीय संगठनहरु छिन्नभिन्न भएको अवस्थामा छैनन् । केही निष्क्रिय होला तर संकलित छन् । हाम्रा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु अन्यत्र गएका छैनन्, शिथिल अवस्थामा बसिरहेका छन् । तिनीहरुलाई सक्रिय गराउने कुरामा हामी लागेका छौं ।

० केन्द्रीय समिति र केन्द्रीय कार्यकारिणी समिति निर्माण हुँदा योग्य र सक्षमभन्दा पनि नातावाद, कृपावादले बढी प्राथमिकता पायो भन्ने गुनासा छन् नि ?

— त्यत्रो ठूलो शक्ति र यति धेरै मान्छेहरुलाई एक ठाउँमा ल्याउँदा दुई चार वटा त्रुटिहरु भएका होलान् । कहीं आफ्नो मान्छे परेका होलान्, कहीं आफ्नो मान्छे छुटेका पनि होलान् । तर समग्रमा हामी सबैको प्रयास थियो, काम लाग्ने मान्छे कोही नछुटोस् । किनभने जुन किसिमको वैकल्पिक शक्ति निर्माणको हामी कुरा गरिरहेका छौं यदि हामीले गुणवत्तालाई छोडेर संख्या मात्रै जम्मा ग¥यौं भने भोलीका दिनमा पार्टी शक्तिशाली हुँदैन । वैकल्पिक शक्ति कुनै हालतमा बन्न सक्दैन । त्यसैले क्वालिटीलाई समेट्नुपर्दछ, यदि कोही छुटेका छन् भने त्यसलाई पनि ल्याएर कुनै न कुनै रुपमा कहीं न कहीं काममा लगाउनुपर्छ र यही पार्टीको घेराभित्र राख्नुपर्छ ।

० रातारात एकता हुँदा अलिखितरुपमा केही सहमतिहरु पनि भएको सुनिन्छ । जस्तै पहिलो नम्बरको अध्यक्षमा महन्थ ठाकुर, दोस्रो नम्बरको अध्यक्षमा उपेन्द्र यादव, संघीय परिषद्को अध्यक्षमा डा.बाबुराम भट्टराई र संसदीय दलको नेता राजेन्द्र महतो । यो वास्तविकता हो त ?

— एकताका बेला के कस्ता सहमतिहरु भएका थिए भन्ने कुरा मलाई थाहा छैन । पार्टीको एकीकरण कुरा चल्दा संसदीय दलको नेता कसलाई दिने भन्ने कुरा हामीलाई जानकारी दिइएन । हामीलाई जानकारी के दिइएको थियो भने महन्थ ठाकुर र उपेन्द्र यादवलाई दुईटा कार्यकारी अध्यक्ष राखिनु पर्छ । पाँच जना ‘क’ क्याटोगेरीका हुन्छन् त्यसमा अशोक राई र राजेन्द्र महतो बस्ने र संघीय परिषद्को अध्यक्षको रुपमा डा.बाबुरामट्टराई दिने । तर एकीकरणको समयमा डा.बाबुरामजी आफैले आफ्नो नाम चौथों स्थानमा राख्नुभयो । किनभने ढिलाइ भइरहेको थियो । संसदीय दलको नेताका बारेमा आउने दिनमा सकारात्मक रुपले सबैको सहमतिमा एउटा निर्णय गर्नुपर्छ । यदि सहमति भएको हो भने त्यहीं हिसावले गर्नुपर्छ । तर, त्यस्तो सहमतिको कुरा हाम्रो जानकारीमा आएको छैन ।

० डा.बाबुराम भट्टराईको नाममा टिपेक्स प्रकरणले अलि चर्चा पायो नि ?

— डा भट्टराई आफैले आफ्नो नाम काटेर चौथो स्थानमा लेख्नुभयो । टिपेक्स लगाएर तल झारेको होइन, त्यो जसपाविरुद्धको दुष्प्रचार हो । यो पनि सत्य हो कि डा.बाबुरामजीले आफ्नो नाम काटेर तल नराखेको भए शायद त्यो दिन दर्ता हुन गाह्रो थियो । दुई–चार दिन अझ ढिला हुन्थ्यो, वार्ता लम्बिन्थ्यो होला । तर, बाबुरामजीले त्यो संवेदनशीलतालाई हेरेर, बुझेर जाउँ आज दर्ता गरौं, अरु कुरो पछि गर्दै गरौंला भनेर उहाँ आफै त्यसो गर्नुभयो । भूतपूर्व प्रधानमन्त्रीको हिसावले उहाँलाई गर्नुपर्छ भन्ने एउटा पक्षको भनाइ थियो, अर्को पक्षले जसरी समझदारी भएको त्यसरी गरौं भन्ने थियो । तर अहिले आएर सबै कुरा मिलेको छ ।

० केन्द्रीय समितिको लिष्टमा डा.बाबुराम भट्टराईलाई बिना नम्बरको सबभन्दा माथि राखिएको छ । भनेपछि उहाँ सर्वमान्य नेताको रुपमा हुनुहुन्छ ?

— बाबुरामजी संघीय परिषद्को अध्यक्ष हुन्, विधानतः त्यो सबभन्दा माथि हो । मलाई उहाँको नम्बर लेखे पनि नलेखे पनि उहाँको जुन हाइट, क्षमता, योग्यता छ, त्यसलाई सबैले स्वीकार गरेकै छन् । पहिला एक र दुई नम्बरको कुरा स्पष्ट पारिएकै थियो । तर, उहाँको जुन सर्वोच्चता र सर्वमान्यता छ, त्यो आफ्नो ठाउँमा छ ।

० सत्तारुढ नेकपालाई जनताले दुई तिहाइ नजिक पु¥याइदियो, तैपनि स्थिर सरकारको रुपमा काम गर्न सकिरहेको छैन । जसपाले यसलाई कसरी हेरिरहेको छ ?

— यो स्थिर सरकारले देशैलाई अस्थिर पारिदिएको छ । देशै प्रगतिविहीन र गतिहीन अवस्थामा छ । जनताले स्थिर सरकारको मत दिएर छिटो–छिटो राज्यले गति लिनुपर्ने, देशले सत्तारुढ दलभित्र गुट–उपगुटको झगडा र आन्तरिक संघर्ष यति तीव्र छ कि देशलाई नै उनीहरुले गतिहीन बनाइदिएका छन् । यो सामान्य प्रक्रिया हो कि कुनै पनि देशको कर्मचारीतन्त्रको जब राजनीतिक संघर्ष बढ्छ उसको गति कम हुन्छ । हाम्रो देशको विशेषता के हो भने जब राजनीतिक संघर्ष बढ्छ, कर्मचारीतन्त्र ठप्पै हुन्छ । अहिले पनि झगडा केन्द्र सरकारमा भइरहेको छ, तर तीनटै सरकारको प्रगति ठप्प छ । कमिशन उठाउने र कमिशनको खेल बाहेक कुनै पनि काम सामान्यतया राम्ररी काम गर्न सकेको छैन । प्रदेश २ को सरकारमा नेकपाको सरकार छैन तैपनि केन्द्रको असर त्यहाँ पनि परिररहेको छ । जबसम्म सत्तारुढ पार्टी कि दुई पक्ष भएर दुइटैले गति लियो भने यो देशले गति लिन्छ कि दुइटैको जुन मनमुटाव, अन्तरसंघर्षको निदान हुन्छ । दोस्रो सम्भावना एकदमै न्यून छ । पहिलो सम्भावना जुन छ रबरजस्तै तन्किँदै गइरहेको छ, त्यो कहिले टुट्ने त्यसको प्रतिक्षा सम्पूर्ण देशले नै गरिरहेको छ । किनभने जबसम्म स्पष्ट हुँदैन यो देश अगाडि बढ्न सक्दैन ।

कोभिड–१९ जस्तो बेलामा पनि ठूलठूला भ्रष्टाचार भएका छन् । जबसम्म भ्रष्टाचार रोकिँदैन, तबसम्म देशको आर्थिक समुन्नति हुन सक्दैन, समृद्धि सपना मात्रै हुन्छ । यो एउटा नग्न सत्य हो, संसारभरिले यसलाई मानेका छन् । त्यसैले भ्रष्टाचारको प्वाल थुन्ने चासो सरकारलाई छैन, प्रमुख प्रतिपक्षलाई पनि छैन । हाम्रो ताकतले भ्याउँदैन । त्यसैले यो अवस्थामा केन्द्रमा एउटा मजबुत सरकार चाहिएको हो । भएको सरकार न त सरकारको अवस्था छ, न टुटेर अलग–अलग अस्तित्वमा आएर एउटा वैकल्पिक सरकार बन्न सक्छ होला । अथवा विकल्पमा देश जान सक्छ होला । तर, त्यो स्थिति छैन । यसले गर्दा यो सात महिनामा उनीहरुको आन्तरिक संघर्षले सम्पूर्ण देशलाई नै वाक्क, दिक्क बनाइदिएको छ । समाचारको पनि एउटा स्थायी अंग बन्न गएको छ नेकपाभित्रको अन्तरसंघर्ष । त्यसैले यसलाई समाप्त गर्न जबसम्म यसको छिनोफानो हुँदैन, देश यस्तै गतिहीन अवस्था रहिरहन्छ ।

० मुलुकमा स्थिर सरकार हुँदा पनि अस्थिरता रहेकै कारण अहिले यो व्यवस्थाको विकल्प जनताले खोजिरहेको देखिन्छ । भनेपछि अहिलेका दलहरुको अकर्मण्यताकै कारण मुलुक अहिले राजावादीहरु सल्बलाउन थालेका हुन् त ?

— यो अरु केही हुँदै होइन । अगाडि लेवल जेसुकै देखियोस् तर मूलतः तीनै तहका सरकार भ्रष्टाचार शिवाय अरु केही काम गरेको छैन । अहिले जनतामा असन्तुष्टि मात्रै होइन, घोर असन्तुष्टि र छट्पटाहट छ । के आन्दोलन मात्रै यो देशमा विकल्प हो ? अथवा अरु केही हुन सक्छ ? राजनीतिज्ञहरुले अरु समाधान किन खोज्दैनन् ? भन्ने प्रतिक्षा सामान्यतया जनतामा छ । त्यहीं छटपटाहटको एउटा लेवल राजावादीको रुपमा देखिएको छ । जनता सडकमा नउत्रिकन देशमा परिवर्तन हुँदैन भन्ने कुरा प्रमाण पहिला भएका छन्, त्यसैका लागि दिनानुदिन जनताको संख्या सडकमा बढ्दै गएको छ । यो कसैको प्रति आकर्षणभन्दा पनि यो सरकारको कामकारबाहीप्रतिको विकर्षण हो । यो व्यवस्था वा संघीयताप्रतिकै विकर्ष हो भनिहाल्ने स्थिति छैन । राज्य सञ्चालकहरुको नालायकी र निकम्मापनाले गर्दा व्यवस्था पनि बदनाम भो । यदि यो व्यवस्था काम नलाग्दो हुँदो हो भने हाम्रो छिमेकी भारत, विश्वको सबभन्दा ठूलो गणतान्त्रिक मुलुक अमेरिका पनि त यो असफल हुनुपर्ने हो नि । सयौं वर्षदेखि चलिरहेको छ, त्यहाँ पूर्ण संघीयता छ, एकदम परफेक्ट तरिकाले चलिरहेको छ । तर हाम्रो देशमा राम्रोसँग किन चलिरहेको छैन भने अहिले देखिएका राजनीतिज्ञहरुलाई देशभन्दा पनि आफ्नो चिन्ता बढी छ । आत्मकेन्द्रित भएर भाइ–भतिजा, छोरा–बुहारी–छोरी र आफ्ना नातेदारहरु कसलाई कहाँ फिट गरुँ र उनीहरु पनि कसरी पैसा कमाऊन् भन्नेमा लागेका छन् । यो कसले गर्छ भने जसलाई भोलीको विश्वास हुँदैन । उसले अवसर पाएको बेलामा लुट–खसोट गर्छ र आफ्नो थैला र बैंक भर्ने काम गर्छ । यो जुन प्रवृत्ति छ अहिलेका देशका तथाकथित नेताहरुको, सत्तासीन र प्रमुख प्रतिपक्षको मौनता पनि त्यसको कारक तत्व हो । जसले गर्दा सडकमा दिनानुदिन असन्तुष्टि र भीड बढ्दै गएको छ । यो एउटा अलार्म हो । जनताले राजनीतिक शक्तिहरुलाई एउटा अलार्म दिइरहेका छन् कि यसमा सच्चिहाल । होइन भने ठूलो संकटमा पर्छौं । अब यी दलहरु सच्चिएनन् भने जुनसुकै स्थिति पनि हुन सक्छ । व्यवस्था के रहन्छ, को आउँछ भन्ने कुराको ठूलो अन्योल त छँदैछ । तर यो निश्चित छ कि देश ठूलो अस्थिरतामा फँस्छ । त्यसलाई बचाउनका लागि पनि समयमै यो अलार्म बजेपछि सबै राजनीतिज्ञहरुलाई चेतना भया ।

० राजावादीहरुको प्रदर्शनले के संकेत गर्दछ त ?

— त्यो भन्ने स्थिति छैन । पछि गएर यो कुरा देखिएला वा होला । हुँदैन भन्ने पनि छैन र हुन्छ भन्ने पनि छैन । तर ठूलो असन्तुष्टि छ, त्यसैले यो अलार्म हो । यो ३ हजार वा ५ हजारको शक्तिले यो देशमा आन्दोलन कहिल्यै पनि भएको छैन । रैथाने मान्छे काठमाडौंमा आन्दोलनमा उत्रेकै होइन । यो देशमा आन्दोलनको इतिहास छ, जबसम्म पूर्वी मधेशमा ठूलो आन्दोलन र काठमाडौंमा रैथानेहरुको आन्दोलन हुँदैन तबसम्म कुनै आन्दोलन टुंगोमा पुगेको छैन । अहिलेसम्म त्यो स्थिति छैन । रैथानेहरु अझै पनि ‘वेट एण्ड वाच’कै अवस्थामा छन्, चाहे त्यो जनकपुरका हुन्, चाहे भैरहवाका हुन्, चाहे काठमाडौंका हुन् । त्यसैले, राजनीतिक शक्तिलाई सच्याउने यो अलार्म हो ।

० तर राजनीतिज्ञहरु सच्चिने छाँटकाँट देखिरहेको छैन नि ?

— यो भनेको आफूभन्दा बाहिर जसले हेरेका छैनन्, उ सच्चिरहेका छैनन् । जसले आफ्नो र आफन्तको सीमाभन्दा बाहिर गएर हेरिरहेका छन्, उसले महसुस गरिरहेका छन् र मलाई लाग्छ यो सच्चिने स्थिति हुन्छ । यतिकैमा भोली राजतन्त्र नै आउँछ भन्ने स्थिति मैले देखेको छैन । तर, मान्छेहरुको दुई वर्ष अगाडिको भन्दा निश्चितरुपमा अहिले राजतन्त्रप्रति झुकाव बढेको छ । तर यो झुकावले यहि हुन्छ भन्ने कुरा होइन । अहिले नै औंला देखाएर यो हुन्छ भन्ने स्थिति छैन । तर दुई महिना वा ६ महिनापछि के हुन्छ भन्ने कुरामा विभिन्न ढोकाहरु खुल्ला छन् । कसैको आकांक्षा के छ भने राजा आउ देश बचाउ भनेको पञ्चायती व्यवस्थाको जस्तो राजाको खोजी हो । कसैको प्रजातन्त्रसहितको राजाको कुरा छ, कसैको संवैधानिक राजाको कल्पना छ । कसैको अलंकारिक र सामाजिक राजाको कुरा छ । राजा र लोकतन्त्र दुइटैलाई समाप्त गरेर अर्कै कुराको पनि कल्पना गर्ने व्यक्तिहरु पनि छन्  । अहिले अस्थिरतामा देश प्रवेश ग¥यो भने सबै ढोका खुल्छ । कुन ढोकातिर हुल जान्छ त्यो भन्न सकिने स्थिति छैन । विगतको आन्दोलनले यहि देखाएको हो ।

(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ