एउटै व्यक्तिलाई धेरै पद दिएको देखेर लोसपा परित्याग गरें : जानकीराम साह

अन्तर्वार्ता

जानकीराम साह, मेयरका प्रत्याशी एवं वडाध्यक्ष, जनकपुरधाम उपमहानगरपालिका–७

० चुनावको मुखमा दल परिवर्तन किन गर्नुभयो ?

— मैले यो पाँच वर्षभित्र आफ्नो वडामा जुन किसिमले काम गरेको छु, यहाँका आम जनसमुदायले मलाई मेयरमा दाबेदारी गर्नुस् भनेर भन्नुभयो । त्यसकारणले म आवद्ध लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि आवाज उठाउँदा मसहित पाँचजनाको नाम सिफारिस भयो । लोसपाबाट यस्ता व्यक्ति सिफारिस भएका छन् जो प्रदेशसभाको सदस्य, जिल्ला अध्यक्ष र प्रदेशको प्रमुख सचेत पनि हुनुहुन्छ । उहाँको नाम पनि मेयरमा सिफारिस गरिएको छ । त्यसकारणले लोसपामा चित्त बुझेन । अनि त्यो पार्टी छोडेर नेकपा (एमाले) प्रवेश गरेको हुँ ।

० मेयरको टिकटकै लागि एमाले प्रवेश गर्नुभएको हो ?

— मेयरको टिकटभन्दा पनि पार्टीभित्र एउटा प्रक्रिया र पद्धति हुन्छ । म पनि लामो समयदेखि राजनीति गर्दै आएको छु । हामीले गरेको कामको राम्रो मूल्यांकन जनताबाट भएको छ, जनताले मलाई मेयरको रूपमा हेर्न चाहन्छन् । त्यसको मूल्यांकन पार्टीले पनि गर्नुपर्ने हो । यदि पार्टी हाम्रो कामको मूल्यांकन गरेन भने के गर्ने त ? एमालेले हाम्रो आम समुदायको भावनाको कदर गर्छ भन्ने विश्वास छ । अहिले एमालेप्रति मधेशमा विश्वास बढ्दै गएको छ । हाम्रा आम समुदायले पनि एमाले नै प्रवेश गर्दा राम्रो हुन्छ भन्ने सुझावहरू पनि आयो । त्यसकारणले आम समुदाय र जनभावनाको कदर गर्दै एमाले प्रवेश गरेको हुँ ।

० तर लोसपाले पनि मेयरकालागि तपाइँको नाम सिफारिस गरेको थियो नि?

— लोसपाले मेरो नाम पनि सिफारिस गरेको थियो तर मलाई चित्त बुझेन । प्रदेश सांसद, सचेक र जिल्ला अध्यक्ष भएका एकै जना धेरै पद लिएर आफ्नै नाम मेयरका लागि सिफारिस गर्नुभएको छ । त्यसकारणले मेरो चित्त बुझेन र यो पार्टीमा बसेर मेरो केही काम छैन ठाने । जब सबै पद एउटै व्यक्तिलाई पार्टीले दिन्छ भने हामी कहाँ जाने त ?

० तपाइँको नाम त सिफारिस भएको थियो, टिकट पाउने आधार देख्नु भएन?

— टिकट नपाउने आधारभन्दा पनि एउटै व्यक्तिलाई धेरै पद दिएको देखेर लोसपा परित्याग गरेर एमाले प्रवेश गरें ।

० तर एमालेले पनि तपाइँलाई नै मेयरको टिकट दिन्छ भन्ने सुनिश्चितता छ त ?

— मलाई विश्वास छ कि एमालेले यहाँको जनभावनाको कदर गर्छ । पार्टीले जे निर्णय गर्छ त्यसलाई हामीले पालना गर्ने नै छौं ।

० एमालेमा पनि जनकपुरधाम उपमहानगरको मेयरका लागि धेरै आकांक्षीहरू छन् नि?

— ठिक छ । पार्टीले यसको निर्णय गर्ने हो । सबैको कामको मूल्यांकन पार्टीले गर्नेछ । मेरो काम र यहाँका जनभावनाको कदर पार्टीले गर्नेछ भन्नेमा विश्वस्त छु ।

० यदि एमालेले पनि तपाइँलाई टिकट दिएन भने ?

— तैपनि म एमालेमै बस्छु । तर अहिलेसम्म मैले एमालेबाट टिकट नपाउने अवस्था मैले देखेको छैन । अहिले एमालेले मधेशको भावनालाई बुझेको छ ।

० तर विगतमा तपाइँहरू मधेश विरोधी एमाले, एमाले मुक्त मधेश भनेर नारा लगाउनुभएको थियो नि?

— त्यो त मधेशआन्दोलनको एउटा राप ताप थियो । त्यतिबेला एउटा माहोल थियो । एमाले मधेशविरोधी देखिएको थियो । तर विस्तारै एमालेले मधेशको मुद्दालाई सम्बोधन गर्ने तत्परता देखाउँदै आएको छ । एमालेको सरकारले हुँदा मधेशका समस्याहरू समाधान गर्न केपी ओली प्रधानमन्त्री हुँदा प्रयास गर्नुभएको थियो । मधेशको मुद्दा सम्बोधन गर्न एमाले सकारात्मक भएको छ । त्यसकारणले हामीलाई विश्वास छ कि मधेशको मुद्दा एमालेले सम्बोधन गर्छ । त्यो विश्वासका साथ पनि हामी एमाले प्रवेश गरेका हौं ।

० अब एमाले मधेशविरोधी छैन त ?

— होइन, अहिले मधेशप्रति एमाले सकारात्मक छ र मधेशका माग सम्बोधन गर्छ ।

० अहिले जनकपुरधाम उपमहानगरमा पाँच दलीय गठबन्धनबाट वर्तमानका मेयर र तपाइँले परित्याग गरेको लोसपाको बलियो पकड छ । तपाइँलाई कतिको चुनौति छ ?

— पाँच दलीय गठबन्धनले हामीलाई चुनौति हुन्छ भन्ने मलाई लाग्दैन । किनकि जनता सर्वोपरी हो । दलबीच गठबन्धन भएको हो, जनताले गठबन्धन गरेको होइन । पाँच दलीय गठबन्धनमा नै अहिले विवाद देखिएको छ, पूर्वमेयरले दाबेदारी गरिरहनु भएको छ । यहाँका आमसमुदायलाई थाहा छ कि अहिलेका मेयरले जनकपुरधाम उपमहानगरकालागि के गर्नुभएको छ । यसको जवाफ आमसमुदायले दिनेछ । यहाँका जनताले सही निर्णय गर्नुहुन्छ । यो गठबन्धनले हामीलाई केही बिगार्दैन । पाँच दल एक्ला–एक्ले प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन बनाएको छ । तैपनि एमाले एक्लै जित्ने तागत राख्दछ ।

० तपाइँ वडाध्यक्षको लागि लड्दा साइकल छाप थियो, अहिले सूर्यबाट लड्दै हुनुहुन्छ । तपाइँका मतदाताले सूर्यलाई भोट हाल्छ ?

— चुनाव चिन्हलाई चिन्नु भन्दा पनि व्यक्तित्वलाई यहाँका जनताले राम्ररी चिनेका छन् । चुनाव चिन्ह त हुन्छ नै तर जनताले व्यक्तित्व पनि हेर्छन् ।

० जनकपुरधाम उपमहानगरमा एमाले कुनै दलसँग सहकार्य गर्छ कि एक्लै चुनाव लड्छ ?

— एमालेले जनकपुरधाममा कोहीसँग सहकार्य गर्छ जस्तो देखेको छैन । हामी जनकपुरधाममा एक्लै लड्नुपर्छ भन्ने चाहन्छौं । किन कि एक्लै चुनाव जित्ने क्षमता एमालेसँग छ । जनकपुरधाममा एमालेसँग ऊर्जावान युवाहरू छन्, जसले आफ्नै बलमा चुनाव जिताउन सक्छन् ।

० तपाइँले वर्तमान मेयर लालकिशोर साहको धेरै विरोध गर्नुभएको थियो नि?

— वर्तमान मेयर लालकिशोर साहले उपमहानगरपालिका एउटा पनि राम्रो काम गर्न सक्नुभएन । उहाँको हरेक गलत क्रियाकलापको मैले विरोध गरेको थिएँ । म व्यक्तिगत रूपमा लाल किशोरको विरोध गरेको थिएन, उहाँको कार्यशैलीको विरोध गरेको थिएँ । जनकपुरधाममा धेरै यस्ता कामहरू गर्न सकिन्थ्यो, त्यसमा उहाँको ध्यानै गएन । यहाँ ल्याण्डफिल निर्माणको कुरा थियो, शिक्षा, स्वास्थ्यलगायत कुनै पनि क्षेत्रमा उहाँ काम गर्न सफल हुनुभएन । मैले मेयरका विरूद्ध सर्वोच्च अदालत मुद्दा पनि दायर गरेका छौं । लुकाएर नगरसभा उहाँले गर्नुभएको थियो । त्यसकारणले उहाँको क्रियाकलापलाई जनमानसले राम्ररी मूल्यांकन गरेका छन् ।

० यदितपाइँ मेयरमाविजयीहुनुभयो भने तपाइँको पहिलो प्राथमिकता के हुनेछ ?

— मेरो सबभन्दा पहिलो प्राथमिकता सरसफाइहनेछ । त्यस्तै, ल्याण्डफिलको व्यवस्था, लामखुट्टेबाट जनकपुरवासीलाई मुक्ति हाम्रो पहिलो प्राथमिकता हुनेछ । हाम्रो प्राथमिकताका कुराहरू जुन वर्तमान मेयरले गर्न सक्नु भएन त्यो पूरा गर्ने मेरो प्रतिबद्धता हो ।

० तपाइँका प्रतिबद्धताहरू के–के छन् ?

— जनकपुरधामको सरसफाइ, गुठीका जग्गाको संरक्षण, मांसमदिरामुक्त जनकपुरधाम, किसानको समस्या, गुणस्तरीय शिक्षा, युवालाई रोजगारी, स्वास्थ्य क्षेत्रमा सुधार लगायत थुप्रै कुराहरू छन् । यी कुराहरूलाई म आफ्नो कार्यकालभित्र पूरा गर्नेछु भन्ने मेरो प्रतिबद्धता हो । यी कुराहरूमा अहिलेका मेयरको ध्यान नै पुग्न सकेन । जनकपुरधामअहिले मधेश प्रदेशको राजधानी भएकोले नयाँ जनकपुरधामको निर्माण होस्, सुन्दर र सफा जनकपुरधामको निर्माण होस् । जानकी मन्दिरमा पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसमा पनि हाम्रो प्राथमिकता रहनेछ । नयाँ जनकपुरको निर्माण होस् भन्ने हाम्रो कल्पना छ । मैले प्रतिबद्धता मात्र जनाउने होइन कि गरेर देखाउँछु । मैले आफ्नो वडा नं. ७मा काम गरेर पनि देखाएको छु । मआफ्नो वार्डमा थुप्रै कामहरू गरेको छु । यहाँका जनसमुदाय मेरो कामबाट पूर्ण सन्तुष्ट छन् । त्यस कारणले जनकपुरधाम उपमहानगरपालिका भरि आम समुदायले मलाई मेयरको रूपमा हेर्न चाहेका छन् ।

० गत चुनावमा मेयर र तपाइँ एउटै पार्टीबाट जित्नुभएको थियो । त्यति बेलाका प्रतिबद्धताहरू कतिको पूरा भयो त ?

— मैले त आफ्नो वार्डमा गरेका सबै प्रतिबद्धता पूरा गरेको छु । तर मेयरले एउटा पनि प्रतिबद्धता पूरा गर्न सक्नुभएको छैन । जुन किसिमको बजेट थियो, त्योअनुसार कामै भएको छैन । करोडौं–अर्बौ रूपैयाँ जुन विकास निर्माणका लागि आएको थियो त्यो फ्रिज भएका छन् । ल्याण्डफिलकै लागि ४८ करोड रूपैयाँ छुट्याइएको थियो, त्यो रूपैयाँ फ्रिजभएको छ । ३ करोड रूपैयाँ उपकरणहरूका लागि आएको थियो त्यो पनि फ्रिज भएको छ । कोरोनाकालमा विपद् व्यवस्थापनका लागि आएको करोडौं रूपैयाँ पनि फ्रिज भएको छ । त्यसकारणले मेयर लालकिशोर साहको कुनै पनि उदाहरणीय वा सन्तोषजनक काम देखा परेको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ