० स्थानीय चुनावबाट प्राप्त नतिजालाई कसरी हेर्नुभएको छ ?
— यस पटकको स्थानीय चुनाव हाम्रो लागि पहिलो नै थियो । त्यो हिसावले पार्टीमा सुरुदेखि नै लागेकाहरुलाई उम्मेद्वार बनाएका थियौं । स्थानीय चुनावमा हाम्रो पक्षमा त्यति राम्रो परिणाम नदेखिएपनि सुरुवात राम्रो हो । चुनावमा ७९ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका थिए, जसमध्ये जनमत पार्टी १०औं स्थानमा आएको छ । लोकप्रिय मतको हिसावले पनि हामीले करिब सबा लाख भोट पाएका छौं । त्यसैले हाम्रो लागि यो अति नै उत्साहजनक परिणाम हो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराको अनुभव पनि प्राप्त गरेका छौं ।
० जनमत पार्टीको कुनै कार्यक्रम हुँदा हजारौं आमजनताको सहभागिता देखिन्थ्यो, तर त्यो ब्यालेटको रुपमा परिणत हुन सकेन, नि ?
— हामीले करिब १८० ठाउँमा चुनाव लडेका थियौं । चुनावको दुई÷तीन दिन पहिलासम्म जनता हाम्रो पक्षमा देखिएका थिए । तर भ्रष्टाचार गरेका पार्टीहरुले पैसाको चलखेल गरी मत किन्ने काम गरे । यहाँसम्म कि हाम्रो उम्मेद्वार पनि खरिद–बिक्री गर्ने काम भयो । जसकारणले हामी धेरै ठाउँमा हार त व्यहोरेका छौं, धेरै ठाउँमा दोस्रो स्थानमा पनि छौं ।
० तपाइँको पार्टीका उम्मेद्वार पनि बिक्री भए ?
— केही ठाउँका उम्मेद्वार बिक्री भएको हामीले रिपोर्ट पाएका छौं ।
० मतदाताहरुले पैसामा आफ्नो मत बेचे ?
— अन्य पार्टीहरुले स्थानीय चुनावमा धेरै पैसा खर्च गरेका छन् । पालिकाहरुमा औसतमा हेर्ने हो भने करिब ५० करोड रुपैयाँ बजेट पाउँछन् । त्यो बजेट पूर्णरुपमा पालिकाकै क्षेत्राधिकारमा हुन्छ । त्यसकारणले धेरै उम्मेद्वारहरुले पैसा खर्च भएर पनि जित्नुपर्छ भनेर लागेका थिए । मेरो गृह जिल्ला रौतहटको कुरा गर्ने हो भने १८ पालिकामध्ये चार पालिकामा पूराना मेयरहरु नै दोहोरिएका छन् । उनीहरुमाथि भ्रष्टाचारको आरोप लागे पनि दोहोरिएका छन् । उदाहरणका लागि फतुवाविजयपुर नगरपालिकाका मेयर पुनः चुनाव जितिसकेको दुई हप्ता भित्रै भ्रष्टाचार मुद्दामा निलम्बन भएका छन् । भनेपछि उनीहरु पैसा खर्च गरेर नै चुनाव जितेका हुन् ।
० अब प्रदेश र संघको चुनाव आउँदैछ, स्थानीय चुनावबाट जनमतले के पाठ सिक्यो ?
— स्थानीय चुनावमा अधिकांश गत चुनावमा हारेकाहरु, लठैत पालेकाहरु र पैसा बाँडेकाहरु नै जितेका हुन् । तर, प्रदेश र संघको चुनावमा त्यो अवस्था आउँदैन । प्रदेश र संघको चुनावमा प्रादेशिक र राष्ट्रिय मुद्दामा चुनाव लड्ने हो, यो मामिलामा जनमत पार्टी सधैं अग्रपंक्तिामा रहन्छ । पार्टीका अध्यक्ष डा.सीके राउतको विकास र समृद्धिको अवधारणा छ । त्यो यदि पूर्णरुपले लागू गर्ने भनेको प्रदेश र संघमार्फत् हो ।
० जनमत पार्टीले प्रदेश र संघको चुनावी तयारी कसरी गर्दैछ ?
— प्रदेश र संघीय चुनावको तयारीमा हामी जुटिसकेका छौं । हामीले जिल्ला समन्वय समितिहरुलाई भंग गरेर नयाँ समितिहरु बनाएका छौं । हरेक जिल्लामा नयाँ जिल्ला इन्चार्ज, पर्यवेक्षकहरुलाई फिल्डमा पठाएका छौं । उहाँहरु तयारीमा जुटिसक्नुभएको छ । पार्टी प्रवेश, उम्मेद्वार चयन प्रक्रियामा अहिले हामी छौं ।
० प्रदेश र संघको चुनावमा जनताले तपाइँहरुलाई विश्वास गर्ने आधारहरु के–के छन् ?
— मधेश प्रदेशकै कुरा गर्ने हो भने विगत पाँच वर्षमा एक तिहाइ बजेट मात्र खर्च गर्न सकेको छ । प्रदेश सरकारको गतिविधि र क्रियाकलापहरु जनताले बुझिसकेका छन् । प्रदेश सरकारको भ्रष्टाचारका गतिविधिहरु भएका छन्, बजेट नै खर्च गर्न सकिरहेको छैन र कुनै पनि कामै गर्न नसक्ने जनताले हेरिरहेका छन् । यस्ता कुराहरु हामीले सशक्त तरिकाले जनतामा लगिरहेका छौं । जनताले हामीलाई विश्वास गर्छन् ।
० जनताले तपाइँहरुलाई कसरी पत्याउँछन् ?
— विगत १०–१२ महिनाको अवधिमा विश्वासलाग्दो धेरै काम भएको छ । स्वराज आन्दोलनदेखि किसान आन्दोलनसम्म हामीले धेरै संघर्षहरु गरेका छौं । यो संघर्षको बाटोमा जनताले हामीलाई अवश्य नै पत्याउँछन् । प्रदेश र संघीय सरकारको सञ्चालन केन्द्रीय तह र नेतृत्वबाट हुने हो । केन्द्रीय नेतृत्व डा.सीके राउतको प्रत्यक्ष निगरानीमा सञ्चालन हुन्छ । उहाँको आफ्नो व्यक्तित्वको हिसावले पनि प्रत्यक्ष संलग्नता हुन्छ । त्यो हिसावले जनताले हामीलाई विश्वास गर्छन् ।
० जनमत पार्टीमा डा.सीके राउतबाहेक अन्य नेता नै छैन जस्तो देखिन्छ नि ?
— जनमत पार्टीमा ५६ जना केन्द्रीय सदस्यहरु छन् र सबै जना प्रत्यक्ष जनताको बीचमा कार्यरत छन् । अन्य पार्टीका नेताहरु विभिन्न काण्ड गरेका, मन्त्री भइसकेका लगायतहरु मिडियामा देखिन्छन् । तर, हाम्रा पार्टीमा सबै नयाँ र पढेलेखेका नेताहरु छन् । नेताहरु प्रचारबाजीमा नलागेकोले डा.सीके राउतबाहेक कोही नेता छैनन् जस्तो लागेको होला । तर एउटा चुनाव भइसकेपछि धेरै अनुहारहरु देखिन्छ होला ।
० आगामी चुनावमा गठबन्धनमा जानुहुन्छ ?
— स्थानीय चुनावमा हामीले कुनै पनि दलसँग गठबन्धन गरेका थिएनौं । तर, अहिले राजनीतिक दलहरुबीच जुन किसिमले ध्रुवीकरण भइरहेको छ त्यो हिसावले हामी गठबन्धन गरेरै जानुपर्ने अवस्थाको सिर्जना हुँदैछ । हामीले आगामी चुनावमा गठबन्धन गर्ने भनेर निर्णय गरेका छौं । विभिन्न पार्टीहरुसँग हाम्रो कुराकानी भइरहेको छ ।
० बिना गठबन्धन चुनावमा जान सकिने अवस्था छैन ?
— गठबन्धनका लागि हामी खुल्ला छौं भनेर मात्रै भनेका छौं । कोहीसँग गठबन्धन गर्दा हाम्रा शर्तहरु हुन्छन्, जोसँग हाम्रो कुरा मिल्छ, त्यो दलसँग हामी गठबन्धन गरेर चुनावमा जान्छौं । तर, गठबन्धन गर्नैपर्छ भन्ने छैन । हाम्रा नेता कार्यकर्ताहरु दिनरात जनताका बीचमा काम गरिरहेका छन् । हाम्रो जनाधार भएको ८० वटा निर्वाचन क्षेत्र छन् । यी ८० निर्वाचन क्षेत्रमध्ये हामीले ५५–६० वटासम्ममा हामीले उम्मेद्वारी दिने शर्त अन्य दलले मान्यो भने मात्रै हामी गठबन्धन गर्छौं ।
० कुन–कुन दलसँग गठबन्धनका लागि कुरा भइरहेको छ ?
— गत साता रेशमलाल चौधरीसँग हाम्रो अध्यक्ष लगायतको टिमबीच छलफल भएको थियो । जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धनका लागि कुराकानी भइरहेको छ । त्यसबाहेक अन्य दलहरुसँग पनि गठबन्धनका लागि हामी खुल्ला छौं । अहिले नै फलानोसँग गठबन्धन गरिहाल्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं ।
० एमालेसँग गठबन्धन गर्ने कति सम्भावना छ ?
— एमालेसँग मात्रै होइन, जोसुकै दलसँग गठबन्धन हुनसक्छ । कांग्रेस, माओवादी, एमाले, लोसपा लगायतका दलहरुसँग गठबन्धनका लागि खुल्ला छौं ।
० डा.सीके राउत कहाँबाट निर्वाचन लड्नुहुन्छ ?
— डा.सीके राउत निश्चितरुपमा चुनाव लड्नुहुन्छ । उहाँ प्रतिनिधिसभाका लागि नै उम्मेद्वारी दिनुहुन्छ । तर कहाँबाट दिने त्यो अहिले नै निर्णय भइसकेको छैन । उहाँ चुनाव नलड्ने मनसायमा हुनुहुन्थ्यो तर हाम्रा पार्टीका नेता कार्यकर्ताहरुको दबाबका कारण चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको हो ।
० वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी हेर्दै हुनुहुन्छ ?
— राष्ट्रिय राजनीतिलाई नियाल्ने हो भने राष्ट्रिय भनाउँदा दलहरु देशभन्दा पनि व्यक्तिगत स्वार्थमा लागि देशलाई जर्जर अवस्थामा पु¥याइरहेका छन् । देश विकास गर्ने कुरा त परै जाओस्, उनीहरु भ्रष्टाचार गर्ने, आफ्नो पुस्तौंपुस्तासम्म पुग्ने अकूत सम्पति आर्जन गर्ने काममा लागेका छन् । नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाकै हालत हुने जस्तो छ । ऋण थोपार्दै गइरहेको छ, युवाहरु विदेशमा आफ्नो श्रम गर्न बाध्य छन् । कुनै पनि नयाँ योजना वा विकास निर्माणका कामहरु भइरहेको छैन । यो गतिविधि परिवर्तन भएन भने देश निश्चितरुपमा श्रीलंकाकै बाटोमा जान्छ । त्यसैले जनमत पार्टीले विकास र समृद्धिको अवधारणा लिएर अगाडि आएको छ । यहाँको स्थानीय उत्पादन बढाउने, स्थानीय तहलाई आत्मनिर्भर बनाउने अवधारणाका साथ अगाडि बढिरहेका छौं । जनताले जति चाँडो हामीलाई विश्वास गरेर जिताउँछन्, त्यति चाँडो यो देशको भविष्य परिवर्तन हुने हो ।
तपाईको प्रतिक्रिया