० स्थानीय तहको चुनावमा तपाईँ कलैया उपमहानगरपालिकाका उपमेयरको उम्मेदवार बन्नुभएको थियो । तर, दोश्रो स्थानमा चित्त बुझाउनुप¥यो । आफ्नो पराजयको समीक्षा कसरी गर्नु हुन्छ ?
— संविधानसभा सदस्य भइसकेका व्यक्ति उपमेयरमा किन लड्नुप¥यो भन्ने पनि एउटा प्रश्न छ । निश्चित रूपमा मैले इतिहास कायम गर्न खोजेको हुँ । जुन ठाउँ पाइन्छ त्यसै ठाउँबाट जनताका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । जनताका लागि मर्यादाले कुनै अर्थ राख्दैन । किनभने यो सेवा गर्ने ठाउँ हो । जनप्रतिनिधि जनताको नोकर भएर काम गर्नुपर्छ । यो जनप्रतिनिधिको काम हो । काम गर्न सक्नुपर्छ । तर, मेरै पार्टीका केही केन्द्रीय र केही जिल्लास्तरका नेताहरूले चलाखीपूर्ण तवरबाट गरेको अन्तर्घातका कारण पनि स्थानीय चुनावमा हार व्यहोर्नुप¥यो । चुनावको दौरानमा गरिएका क्रियाकलाप राम्रो भएन । स्थानीय तहमा चुनाव लड्ने निर्णय गलत थियो । तथापि चुनावको कुरा गर्नुहुन्छ या चुनावका अनुभवको कुरा गर्नुहुन्छ भने मैले चुनाव जितिसकेको अवस्था थियो । पाँच–सात हजार मतले जित्ने कुरा स्थानीय जनताले पनि भन्दै आएका थिए । मेयरमा संघर्ष हुने भए पनि उपमेयरमा त्यस्तो नहुने भनिँदै आएको थियो । अब यसमा पावर सेयररिङको कुरा पनि थियो । मैले जितिसकेको अवस्था थियो । तर, त्यहाँ एउटा ह्वीम चलाइयो । अहिलेको निर्वाचित मेयर बिनोद साह र मेरो टकराब जहिल्यै पनि हुन्थ्यो । हाम्रो टकराबका कारण अन्यले जित्दै आएका थिए । त्यसकारण विनोद र प्रमोद एक ठाउँमा हुनुहुँदैन भनेर केही व्यक्तिले मेयरमा बिनोद र उपमेयरमा प्रमोदलाई भोट दिने भनेर आवाज उठाए । एमालेले पनि मेयरमा विनोद र उपमेयरमा प्रमोद भनेर प्रचार गर्न था¥यो । तर, अन्तिम दुई दिनमा एउटै समुदायका दुवै व्यक्ति भए, वैश्यहरू मिलेर खाइदिने भए भनेर भन्न थालियो । जसले गर्दा हार व्यहोर्नुप¥यो । मेरो जीवनको लागि यो निर्णय गलत थियो ।
० भनेपछि जातीय समीकरणका कारण तपाईँले पराजयको सामना गर्नुप¥यो ।
— हो, एउटा जातीय समीकरण र अर्को कांग्रेससँग गठबन्धन गर्नु कारक बन्यो । पार्टीमा एक जनाले टिकट पाउने र अर्कोले नपाउने अवस्था आउँदा समस्या पनि हुन्छ । किनभने गठबन्धनबाट मेयरको उम्मेदवार अन्यलाई स्वीकार नै थिएन । जसले गर्दा सबै भोट एमालेमा भनेर क्याम्पेनिङ नै चल्यो । पाँच हजार मत डाइभर्ट गराइयो । जसले गर्दा मेयरका उम्मेदवार त हारे नै, उपमेयरमा मलाई पनि हार व्यहोर्नुप¥यो । अर्को कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवारद्वारा एक छापा भोट हाल्न लगाउने काम भयो । कांग्रेसका मेयर, उपमेयरसहित भोट हाल्न लगाइयो । उम्मेदवार नभएकोमा पनि मत हालियो । आफू जित्ने मेयर तथा उपमेयरसँग मतलब नराखी भोट हाल्ने पनि काम भयो । कांग्रेसमा उपमेयरको भोटको कुनै अर्थ नै छैन ।
० कांग्रेससँग गठबन्धन गर्नु प्रतिउत्पादक भयो ?
— म जसपालाई भन्न चाहन्छु । तपाईँ कुनै पार्टीसँग समीकरण गर्नुस् । तर, कांग्रेससँग नगर्नुस् ।
० कांग्रेसले अन्तर्घात गर्छ ?
— गर्छ । गर्छ । कांग्रेसका व्यक्तिहरू निम्तस्तरका व्यवहार देखाएका छन् । कांग्रेस पार्टी नै होइन व्यक्तिवादी चरित्र भएको समूह हो । त्यसकारण उसँग समीकरणमा जानु हुँदैन ।
० अब फेरि संघ र प्रदेशको चुनाव आउन लागेको छ । यी चुनावमा फेरि कांग्रेससँग गठबन्धन गर्नु राम्रो कि नराम्रो ?
— पछिल्लो समयमा जसपा र लोसपा मिलेर चुनाव लड्ने पनि कुरो आइरहेको छ । यसमा मेरो प्रश्न छ कि पार्टी तपाईँहरूले किन फोड्नुभयो ? मेरो प्रश्न उपेन्द्रजीसँग र लोसपाका नेताहरूसँग छ, मन्त्री खानका लागि भोलिका चुनावमा मिल्ने, गठबन्धन गर्ने र पार्टी चाहिँ फोडिराख्ने ? बर्बाद गर्ने ? ठिक छ मिल्नुस् । गठबन्धन गरेर जानै पर्छ । चुनाव जित्नै पर्छ । सँगसँग पार्टी पनि मिलाउनुस् । पार्टी पनि एकीकरण गर्नुस् । तपाईँहरू कसम खानुस् कि छोरा बुहारीलाई टिकट दिएर सांसद् बनाउँदैनौँ भनेर । उनीहरूको टाउकोमा हात राखेर कसम नखाने ? त्यसकारण गठबन्धन पनि गरौँ, पार्टी एकीकरण पनि गरौँ । म भन्न चाहन्छु उपेन्द्रजीलाई, महन्तजीलाई, बाबुरामजीलाई कि तपाईँहरूको अवस्था राम्रो छैन । म पार्टीको सानो कार्यकर्ता हुँ । म भन्न चाहन्छु–तपाईँहरू आसेपासेको कुरामा नलाग्नुस् । उनीहरूले सुनाएको कुराको पछि नलाग्नुस् । उनीहरूले सुनाउने कुरामा मख्ख नपर्नुस् । जनस्तरमा संगठनमा काम गर्ने हामी हौँ । त्यसकारण म भन्छु । तपाईँहरूको अवस्था राम्रो छैन । पार्टी मिलाउनुस् । जसपा लोसपा मिल्नुस् । कांग्रेससँग कुनै हालतमा गठबन्धन नगर्नुस् । बरू एमालेसँग गर्नुस् । एमाले मधेश विरोधी भए पनि गठबन्धन गर्दा उसको मान्छे भोट दिन्छन् । म प्रमोद गुप्ता बोलेको होइन । यो जनताको आवाज हो ।
० जसपा सहमतिमै फुट्न लागेको भनेर सुनिन्छ । के हो कुरो ?
— यो ठूलो नौटंकी हो । सहमतिमा जुट्ने सहमतिमा फुट्ने ? ठिक छ लोकतान्त्रिक प्रक्रिया हो । तर, फुट्ने किन ?
० विचार मिलेको छैन भनिन्छ नि ?
— विचार होइन । इगो मिलेन । मेरो मान्छे परेन । भोलि मेरो मान्छेले टिकट पाउँदैनन् । उपेन्द्र यादवको मान्छे परेन, बाबुरामको मान्छे परेन । मान्छे बनाउनका लागि पार्टी तपाईँहरूले फोड्न लाग्नुभएको छ ? जनताले दिएको बलिदानी बिर्सिनुभएको छ तपाईँहरूले ? उनीहरूका संघर्ष बिर्सिनुभयो ? ६ महिना नाकाबन्दीमा हामी बसेका थियौँ । ६ महिनाको जेल सजाय मैले भोगेको हुँ । क्षतिपूर्ति मैले तिरेको हुँ । तपाईँको पार्टीले तिरिदिएको होइन । कार्यकर्ताले गाडी जलाएको पैसा मैले ब्यहोर्नुप¥यो । यो कुरा तपाई बुझ्नुहुन्न ? ठिक छ लोकतन्त्रमा पार्टी फुट्ने जुट्ने क्रम चल्छ । तर, यसले सन्देश राम्रो गइरहेको छैन । दुवै नेतृत्वलाई अनुरोध गर्न चाहन्छु कि मिलेर अगाडि बढ्नुस् । कांग्रेस ठूलो पार्टी छ । त्यसमा २० देखि ५० वर्ष लगानी गरेका मानिसले समेत ठाउँ पाएका छैनन् । तर, पनि तिनीहरू त्यहाँ बसिरहेका छन् । हामी भर्खर दु चार दश वर्षमा किन यति तानातानमा लागेका छौँ । हामी किन आफ्नो इगोलाई एक ठाउँमा राख्न सकेका छैनौँ । छोरा, बुहारी र स्वास्नीका लागि तपाईँहरूले पार्टी खोल्नुभएको हो । यो सन्देश गएको राम्रो हो त ? यो काम बन्द गर्नुस् । जनताका लागि अगाडि बढ्नुस् । कांग्रेस र एमालेको विकल्प नदिएसम्म यो देश बन्दैन । त्यसकारण पछिल्लो समयमा स्वतन्त्र विचार अघि बढिरहेका छन् । तपाईँहरू सचेत हुनु होस् । हाम्रो पार्टी जसपा कुनै दूधले धोएको पार्टी छैन । हामीभित्र पनि धेरै राम्रा नराम्रा मानिसहरू छन् । हाम्रो प्रदेशका मुख्यमन्त्रीले कसरी प्रदेश चलाइरहेका छन्, त्यो पनि हामी हेरिरहेका छैन । भोलिका दिनका विधायकहरूको रूवावासी हुन्छ ।
तपाईको प्रतिक्रिया