० संघ र प्रदेशको चुनाव नजिकिँदै गएको छ । जनमत पार्टीको तयारी कस्तो छ ?
— स्थानीय चुनावको परिणामलाई राम्रै रह्यो । स्थानीय चुनावको परिणामलाई हामीले सकारात्मक रूपमा नै लिएका छौँ । तर, पूर्ण रूपमा उत्साहित हुनुपर्ने अवस्था भने छैन । अपेक्षाकृत नभएपनि परिणाम सकारात्मक छ । खास गरी मधेशको राजनीति पुरानै परम्पराअनुसार नै चलिरहेको छ ।
एउटा भोटको पाँच हजार लिनुस् अनि भोट दिनुस् जस्ता विकृति देखियो । अब स्थानीय तहको चुनावमा यस्तो किसिमको परिपाटी बसाएर एकदमै गलत गर्ने काम हुँदैछ । मधेशमा पैसा दिएर भोट किन्ने धन्दा चलिरहेको छ । त्यसकै परिणामले मधेशको समग्र विकासमा असर पारेको छ । हामीलाई जनताले सवा लाख भोट दियो । त्यो भोट हाम्रो लागि अमूल्य हो । बिक्री नभएका सवा लाख भोट हाम्रोमा देखियो । यो एकदमै सकारात्मक हो । आगामी संघ र प्रदेशको चुनावको तयारी पार्टीले गरिरहेको छ । हाम्रो हरेक जिल्लामा जिल्लास्तरीय समीक्षा बैठकहरू चलिरहेका छन् । गाउँ, नगर, जिल्लास्तरीय बैठकहरू जारी राखेका छन् ।
हामीले स्थानीय चुनावको भन्दा संघ र प्रदेशको चुनावमा राम्रो परिणाम ल्याउँछौँ । जनताले जनमत पार्टीलाई अत्यधिक भोट दिनेछ ।
० आगामी चुनावबाट प्रतिनिधिसभामा जनमत पार्टी देखिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
— प्रतिनिधिसभामा हाम्रो उपस्थिति राम्रै हुनेछ । यसमा हामी विश्वस्त छौँ ।
० तपाईँहरूको चुनावी एजेण्डा के के हुने छन् ?
— खास गरी प्रत्यक्ष लोकतन्त्र र जनता राजलाई चुनावी एजेण्डा बनाएका छौँ । त्यो हाम्रो मुख्य एजेण्डा हो । हामीले स्थानीय चुनावमा २ स्थानीय तहको प्रमुखमा जित्यौँ । त्यस्तै, करिब २० वटा वडामा हामी जित्यौँ । यी ठाउँहरूमा हामीले जनता राजको अनुभूति दिलाइरहेका छौँ । विकास र समृद्धिको सही दिशा निर्देशन गर्ने अवस्था बन्छ । त्यो हामी गरेर देखाउँछौँ ।
० संविधान संशोधन, नागरिकतालगायतका मुद्दाबारे के भन्नुहुन्छ ?
— संविधान संशोधन वास्तवमा हुनुपर्छ । मधेश आन्दोलनपछि आएका पार्टी जुन आफूलाई राष्ट्रिय पार्टी भनेर भन्ने गर्छन् । ती दलका नेताहरूलाई सोध्नुस्, संविधान संशोधन भयो त ? त्यति मात्र होइन नागरिकता समस्या, सेना सामूहिक प्रवेशलगायतका मागहरू किन पूरा हुन सकेनन् ? यिनीहरू मन्त्री बन्ने काम मात्र गर्छन् । पटक पटक यही मुद्दा लिएर उनीहरू सरकारमा गएका छन् । नागरिकता विधेयककै कुरा गर्ने हो भने फेरि पनि विधेयक फिर्ता भयो । मधेशका मसिहा भन्नेहरूले एमालेको सरकार हुँदा होस् अथवा कांग्रेसको हुँदा होस् सत्तामा बसिरहेका हुन्छन् । आफ्नै गठबन्धनको सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ । सरकारमा बसेर उनीहरूले के गरिरहेका छन् ? यो भोट बेचुवा पार्टीहरूलाई एकपटक राम्ररी सबक सिकाउनुपर्छ ।
० तपाईँहरू जनतामा के भनेर जानुहुन्छ ?
— हामी विकास र समृद्धिको एजेण्डा लिएर जान्छौँ । मधेशको विकास र समृद्धिको एजेण्डा लिएर जान्छौँ । खास गरी विदेशमा युवाहरू पलायन भइरहेका छन् । स्वरोजगारको योजना ल्याउँछौँ । जनतालाई प्रत्यक्ष लोकतन्त्रको अनुभूति गराउँछौँ । त्यो अनुसार हामी अगाडि बढ्ने हो । मधेशका विकासका लागि एउटा नयाँ वातावरण श्रृजना ग¥छौँ ।
० डा. सीके राउतले आफ्नो पार्टीले विशेष गरी मधेशको प्रदेशसभामा क्लीन स्वीप गर्ने दाबी गर्नुभएको थियो नि ?
— प्रदेशसभामा हाम्रो राम्रो उपस्थिति हुन्छ । क्लिन स्वीप हुन पनि सक्छ । कुनै ठूलो कुरा होइन । यसपटक जनताले प्रदेश र संघका चुनावमा हामीलाई भोट दिन्छन् ।
० भनेपछि मधेशमा जनमत पार्टीले सरकार बनाउने अवस्था ल्याउँछ ?
— एकदमै ।
० तर, जनमत पार्टीमा त्यसअनुसारका क्याडर देखिएका छैनन् भनिन्छ नि ?
— हेनुस्, त्यो तपाईँलाई लागेको होला । अहिले भर्खर भारतमा पंजावको चुनाव भएको छ । ४७ वर्षको युवा त्यहाँको मुख्यमन्त्री बनेका छन् । विगतदेखि वर्चस्व कायम गरेकाहरू पराजित भए । मधेशमा हुने चुनावमा अब त्यही अवस्था आउनेबाला छ । र, पूरा युवा नेता आउने छन् । काठमाडौँमा बालेन साहलाई हेर्नुस् । जनता अब बुझिरहेका छन् । मधेशका जनताले पनि बुझिरहेका छन् ।
० जनमत पार्टीबाट उम्मेदवारका लागि मापदण्डहरू के कस्तो तय गर्नुभएको छ ?
— हामीले पनि मापदण्ड राम्रो नै तोकेका छौँ । मधेशका युवा पहिला त स्वच्छ हुनु प¥यो । भ्रष्टाचारमुक्त हुनु प¥यो । भिजन दिन सक्ने हुनुप¥यो । हामीले पहिला यी कुराहरू निर्धारण ग¥छौँ । कुनै पनि गलत काममा मुछिएको हुनु भएन । त्यस्तोलाई हामीले प्राथमिता दिन्छौँ । युवा तथा महिलाहरूलाई हामीले बढी प्राथमिकता दिन्छौँ ।
० स्थानीय चुनावमा तपाईँहरूले कुनै पनि दलसँग गठबन्धन गर्नुभएन । आगामी प्रदेश र संघको चुनावमा गठबन्धन गर्ने भनेर तपाईँहरूले भनिरहनुभएको छ । कुन दलसँग गठबन्धन गरेर चुनाव जानुहुन्छ ?
— गठबन्धनका लागि हामी सकारात्मक छौँ । हामीले मधेशवादी विचारधाराका पार्टीसँग पनि गठबन्धन गर्न सक्छौँ । जसले समस्याको समाधान गर्न सक्छ । ती पार्टीसँग गठबन्धन हुन सक्छ । हामीले आधिकारिक रूपमा गठबन्धन गर्ने भनेर भनिसकेका छौँ । गठबन्धनको कुरा गर्ने हो भने जुन पार्टीसँग पनि हुन सक्छ । मधेशको समस्या समाधानमा लाग्ने पार्टीसँग मात्र गठबन्धन हुन्छ । डा. सीके राउतले ल्याएका सिद्धान्तमा मिल्न सक्ने जुन पार्टीसँग पनि गठबन्धन हुन सक्छ ।
० अहिलेका सत्ता गठबन्धन बाहेकका दलसँग गठबन्धन हुन्छ कि सत्ताधारी दलसँगै गठबन्धन हुन्छ ?
— यो पाँचदलीय गठबन्धन रहला कि नरहला थाहा छैन । यो अप्राकृतिक गठबन्धन हो । टिक्छ कि टिक्दैन । मलाई थाहा छैन । सरकारको पक्षबाट पनि यो कुरा आइसकेको छ । सत्ताधारी दलहरू आफैँ द्वन्द्वमा छन् । यसबाहेक अन्य दलको कुरा गर्ने हो भने हामीले रेशम चौधरीसँग भेट गरेका थियौँ । उहाँसँग मिलेर चुनाव लडेको भए हामी धेरै ठाउँमा जित्न सक्थ्यौँ । पश्चिम नेपालका ठाउँहरूमा जित्थ्यौँ । त्यसैले हामी मिलेर जानुपर्छ । त्यसपछि अन्य दलहरू पनि छन् । नयाँ गठबन्धन पनि बन्न सक्छ ।
० नेकपा एमाले, लोसपा र जनमत पार्टीबीच गठबन्धनको तयारी भइरहेको पनि कुरो सुनिन्छ । के हो कुरो ?
— कुरा बाहिर आएको छ । त्यसमा धेरै कुरा सकारात्मक र धेरै कुरा नकारात्मक पनि हुन्छन् । त्यसमा आधारभूत तयारी भएको छैन । धेरै ठाउँमा कुराहरू मात्र आएका छन् । विस्तारै हेरौँला । हेर्दै जाउँ के हुन्छ । अरू पनि हुन सक्छन् ।
० मधेश बाहेकका जिल्लामा पनि तपाईँहरूको उम्मेदवारी हुन्छ ?
— हाम्रो उम्मेदवार अन्य ठाउँमा पनि हुने छन् । गठबन्धनमा कुन क्षेत्रमा के कति ठाउँबाट उम्मेदवारी दिने भन्ने कुरा पछि तय हुन्छ । काठमाडौँमा पनि हामीले उम्मेदवारी दिन सक्छौँ ।
० तपाईँको महोत्तरी क्षेत्र नम्बर ३ हो । यो महन्थ ठाकुरको क्षेत्र पनि हो । तपाईँ यहाँबाट संघ कि प्रदेशका लागि चुनाव लड्नुहुन्छ ?
— त्यो त पार्टीले निर्धारण गर्नेछ । पार्टीले निर्धारण गरेपछि प्रदेश वा संघबाट पनि लड्न सकिन्छ । त्यसबेला मधेश आन्दोलनको रापताप र अन्य दलको सहयोगबाट महन्थ ठाकुरले चुनाव जित्नुभएको थियो । अहिले भने त्यस्तो अवस्था छैन । यो क्षेत्रमा युवा नेतृत्वको आवश्यकता छ ।
० त्यसो भए तपाईँ प्रतिनिधिसभाका लागि इच्छुक हुनुहुन्छ ?
— इच्छा त भइहाल्छ नि । त्यसमा कुनै ठूलो कुरा होइन ।
० तपाईँहरूको अध्यक्ष डा. सीके राउत कहाँबाट उम्मेदवारी दिनुहुन्छ ?
— हाम्रो अध्यक्षज्यूको सप्तरी क्षेत्र नम्बर २ हो । तर, हामीले निर्धारण गरेका छैनौँ । पहिलो प्राथमिकता त्यही नै हुन्छ ।
तपाईको प्रतिक्रिया