इटहरी, ८ भाद्र । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना र राखिएका सामग्रीहरु हटाउने भएको छ ।
सडक सुशासन कायम गर्न पूर्व–पश्चिम सडकको लविपूर चौकदेखि रामधुनी नगरपालिकाको सीमासम्म सडकको दायाँ बाँया साढे ८२ फिट सफा गर्न लागिएको हो ।
एक सातासम्म हटाउन अनुरोध गर्ने र नहटाएमा उपहानगरले आफै हटाउने नगरप्रमुख द्वारिकलाल चौधरीले बताए । सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले आइतबार सम्बन्धित विषयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको छ ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको हो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।
कार्यक्रममा नगरप्रमुख द्वारिकलाल चौधरीले सडक सुशासन अभियानमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरे । सडकको अधिकार क्षेत्र साढे ८२ फुट भित्र रहेका संरचना हटाउन उनले आग्रह गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजालले समेत सडक सुशासन प्रदेश सरकारको पनि एउटा मुख्य अभियान रहेको बताए ।
मेयर चौधरीले सडक क्षेत्राधिकार भित्र केहि पनि सामान नराख्ने वातावरण बनाउन उद्योग वाणिज्य संघसँग समेत आग्रह गरे ।
सात दिनभित्र सडक क्षेत्राधिकारभित्र रहेका टेलिकमका सबै पोल हटाउन मेयर चौधरीले टेलिकमसँग आग्रह गरे । यदि नहटाए उपमहानगरले आफै हटाउने उनको चेतावनी छ ।
विद्युत प्राधिकरणका प्रतिनिधिले भने विद्युतका पोल हटाउन विद्युत प्राधिकरणले सहयोग गर्ने तर त्यसवापत लाग्ने शुल्क स्थानीय तहले नै ब्यहोर्नु पर्ने जानकारी दिए ।
इटहरी उपमहानगरले गत साल भाद्रमा एक हप्ता लगाएर बुढिखोलादेखि पचरुखीसम्म सडक क्षेत्राधिकार क्लियर गरेको थियो ।
तपाईको प्रतिक्रिया