इटहरी, १५ भाद्र । इटहरी उपमहानगरले सडक क्षेत्राधिकारभित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ ।
सडक सुशासन कायम गर्न पूर्वपश्चिम सडकको पचरुखीचौकदेखि सडकको दायाँ बायाँ साढे ८२ फिट सफा गर्न सुरु गरिएको हो ।
एक सातासम्ममा रामधुनी नगरपालिकाको सीमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए ।
सात दिनसम्म आफै हटाउन अनुरोध गर्दा पनि नहटाएपछि उपमहानगरले हटाउन थालेको हो । रामधुनी नगरपालिकाको सिमासम्म सडक सफा गरि सकेपछि अर्को एक हप्ता पचरुखी पूर्व वुढिखोलासम्म पुनः अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाइने मेयर चौधरीले जानकारी दिए ।
गत वर्ष भदौमा बुढिखोलादेखि पचरुखीसम्म सफाई गरिएको थियो । यसबर्ष सडक सुशासन अभियान सुरु गर्नु अघि उपमहानगरले सम्वन्धित विपयगत कार्यालय र सवै सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ, जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया