काठमाडौं, २१ भाद्र । दुई वर्ष पहिला वि.सं. २०७४ बैशाख ७ गते मधेशकेन्द्रित ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपाल अहिलेसम्म पनि एउटा पार्टीको स्वरुप लिन सकेको छैन । अहिले पनि ६ वटा पार्टी सम्मिलित एउटा मोर्चाकै रुपमा देखा परिरहेको छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा तयारी नदेखिएको भन्दै राजपानिकट राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रले चिन्ता व्यक्त गर्दै महाधिवेशनको तयारीमा सम्पूर्ण पार्टीपंक्ति लाग्नुपर्ने आग्रह गरेका छन् ।
उनले महाधिवेशनपछि मात्रै कुनै दल वा समूहसँग एकताको प्रक्रिया अगाडि बढाउँदा राजपा र मधेशको लागि राम्रो हुने बताएका छन् ।
‘विगतका ती ६ वटै दलका संरचनाहरु छुट्टाछुट्टैरुपमा देखिएका छन् । त्यसलाई गुटहरुको जमात पनि भन्ने गरिन्छ । दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि राजपा एउटा पार्टीको रुपमा नदेखिनुका कारण अध्यक्षमण्डलीय प्रणाली र समायोजन टुंगोमा समस्या हो ।’ विद्यार्थी नेता मिश्रले मधेशवाणीसँगको कुराकानीमा बताए ।
उनी भन्छन्, ‘पार्टीलाई एक ढिक्का गर्न र अनुशासितरुपमा सञ्चालन गर्न महाधिवेशन अति नै आवश्यक रहेको नेता कार्यकर्ताहरुको निष्कर्ष रहेको छ ।’ उनले थपे, ‘दुई पटक महाधिवेशनको मिति फेल सकेको राजपाले महाधिवेशनका लागि आगामी कार्तिक २८, २९ र ३० गतेको मिति तय गरेको छ । तर, महाधिवेशनको तयारी देखिएको छैन ।’
महाधिवेशन सम्पन्न गर्नका लागि आजदेखि जम्मा ६९ दिन मात्र बाँकी छ । त्यसमा विभिन्न चाँडपर्वहरु पर्छन् । लगभग १५–२० दिन दशै, तिहार र छठ पर्वमै बित्छ । त्यो हिसावले महाधिवेशनको तयारीका लागि राजपासँग डेढ महिना जति मात्र समय बाँकी रहन्छ ।
उनले जुन उद्देश्यका साथ मधेशका महत्वपूर्ण शक्तिहरु एक ठाउँमा आएर एकीकरण गरेका थिए त्यो उद्देश्य प्राप्तिका लागि पहिला महाधिवेशन गरी एकल नेतृत्वको विकास गर्दै पार्टीलाई मजबुत बनाउनुपर्ने जिकिर गरेका छन् ।
‘पहिला आफू बलियो भएपछि मात्रै हामीले अरुसँग लड्न सक्छौं । हामी अहिले पनि संघर्षमै छौं ।’ उनी भन्छन्, ‘समाजवादीसँग एकताका लागि जहिले पनि बाटो खुल्ला छ तर, राजपा पहिला एउटा पार्टीको रुपमा त आउनुप¥यो ।’
उनले भनेका छन्, ‘समाजवादीसँग एकताका लागि कोही पनि बाधक छैन तर, पहिला महाधिवेशन गरौं, त्यसपछि एकता ।’
महाधिवेशनभन्दा पहिला एकतामा गयो भने पार्टी छिन्नभिन्न हुनुका साथै नेताहरुको अस्तित्व पनि समाप्त हुने दाबी विद्यार्थी नेता मिश्रको छ ।
तपाईको प्रतिक्रिया