जनकपुरधाम, ३ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तराई–मधेशमा आउने बाढीको दीर्घकालीन समाधानका लागि नेपाल र भारत मिलेर काम गर्नुपर्ने सुझाव दिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिद्वारा जनकपुरमा मंगलबार आयोजित छलफलमा उनले बाँधका कारण उत्पन्न समस्या समाधानका लागि दुवै देश मिलेर जनताको हितमा कार्य गर्नु आवश्यक रहेको बताए । बाँध निर्माणले बर्षेनी उत्पन्न समस्या समाधानका लागि दुवै देशले सहकार्य र समझदारी गर्नु अपरिहार्य भइसकेको उनले बताए ।
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले विपद् आएपछि मात्र उद्धार, राहत र तत्कालीन व्यवस्थाको चक्रव्यूहबाट पार पाउन विपद्को चुरो पहिल्याई दीर्घकालीन समाधानका उपाय अवलम्बन गर्नु आवश्यक रहेको उल्लेख गरे ।
प्रदेश २ मा चुरे संरक्षण, बलियो बाँध निर्माण र नदीनाला नियन्त्रणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सिङ्गै नेपालको समृद्धि प्रदेश २ सँग अन्तरनिहित भएका कारण पनि विपद्को दीर्घकालीन हिसाबले समाधान गर्न ध्यान केन्द्रित गर्नु जरुरी रहेको बताए ।
अध्यक्ष प्रचण्डले प्रदेश २ मा बाढीबाट पीडित जनसमुदायका लागि एउटा प्याकेजसहित आउने सरकारको तयारी भइरहेको जानकारी गराए ।
अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी राष्ट्र भारतले नदीको प्राकृतिक बहावलाई अवरोध पु¥याउने किसिमले बाँध निर्माण गरेका कारण सीमावर्ती क्षेत्रका गाउँबस्तीमा डुबान र कटान समस्या जटिल बन्दै गएकातर्फ ध्यानाकर्षण गराए ।
विपद्को स्थायी समाधानको उपाय पहिल्याइ प्रभावकारी रूपले कार्यान्वयनमा ध्यान जानु जरुरी भएको चर्चा गर्दै उहाँले चुरे संरक्षणका लागि सक्रिय रूपले लाग्नुपर्नेमा जोड दिए ।
प्रदेश २ का आन्तरिक मामिला कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश २ मा हरेक वर्षायाममा विपद् आइपर्ने भएकाले यसको स्थायी समाधानमा सङ्घीय सरकारको सहयोग अपरिहार्य भइसकेको बताए ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ प्रदीपराज कर्णले कमला नदीमा तटबन्ध तथा सडक निर्माण, कृषकलाई राहत हुने कार्यक्रम र कृषि बीमाको व्यवस्था तत्काल जरुरी भएको धारणा व्यक्त गरे ।
तपाईको प्रतिक्रिया