नेपालकै पहिलो बालविवाहमुक्त नगर बुद्धभूमि

समाचार

8/28/2019

कपिलवस्तु, ११ भाद्र । नेपालकै पहिलोे बालविवाहमुक्त नगरपालिका कपिलवस्तुको बुद्धभूमि नगरपालिका भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकै पटक पूर्ण बालविवाहमुक्त र पूर्ण खोपयुक्त नगरपालिका घोषणा भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई गोरुसिंगेमा पूर्ण बालविवाहमुक्त र पूर्ण खोप युक्त घोषणा गरेका छन् ।

नगरपालिकाले तयार पारेको प्रतिवेदनको सारांशमा उल्लेख गरेको कुरा उच्चारण तथा हस्ताक्षर गरेर यादवले नगरपालिकालाई एकै पटक बालविवाहमुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेका हुन् ।

मानवविकासको लागीखोप र महिलाहरुको स्वास्थ्यअवस्था सुधार गर्नको लागि बालविवाह रोक्नु र बालबालिकाहरुलाई पूर्ण रुपमा खोप लगाउनु महत्वपूर्ण र उल्लेखनीय कार्य भएको यादवले बताए ।

संघीय व्यवस्था लागू भएपछि स्थानीय तहले भौतिक विकासका साथै सामाजिक र मानवीय विकासको लागि ढोका खुलेको हुँदा बुद्धभूमि नगरपालिकाले गहन र महत्वपूर्ण कार्य सम्पादन गरेर सरकारले निर्धारण गरेका सूचक पुरा गरी घोषणा गरेको हेर्न पाउँदा अत्यन्त खुसी लागेको उनले बताए ।

नेपालमा छिटो विवाहका कारण महिला र बालबालिकालाई समस्या पर्ने तथा खोप नलगाउँदा अकालमा ज्यान जाने घटना धेरै भएको हुँदा यो तहले यस्तो समस्याबाट मुक्ति मिलेको बताए ।

नेपालका अन्य स्थानीय तहले समेत यसको सिको गरी यस्ता कामहरु गर्न समेत उनले आग्रह गरे । साथै सरकारले गत वर्षभन्दा यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा केही बजेट बुद्धि गरेर कामहरु अगाडि थालेको समेत मन्त्री यादवले बताए ।

प्रतिवेदन पेश गर्दैै बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले सन् २०१३ मा बालविवाहको अवस्था हेर्दा ४४.५८ रहेकोमा साविक गाविसहरुले र नगरपालिका भएपछि विभिन्न अभियान चलाएपछि २०१९ मा आउँदा बालविवाहको अवस्था २.९२ प्रतिशत भएको कारण घोषणा गरिएको बताए ।

त्यस्तै ९९ प्रतिशत बालबालिकाहरुमा खोप लगाएको अवस्था सर्वेक्षणबाट आएकोले नगरलाई पूर्ण खोप नगरसमेत घोषणा गरेको बताए ।

विभिन्न समयमा १० वटै वडालाई घोषणा सम्पन्न गरेकोले यसै सभामार्फत नगरलाई नै घोषणा गरेको उनले प्रतिवेदनमा उल्लेख गरे । यस अघि नगरपालिका गत साल नै पूर्ण साक्षर नगर समेत घोषणा भैसकेको छ ।

नगरपालिकाले छिट्टै नै शून्यहोम डेलिभरी नगरपालिका पनि घोषणा गर्ने तयारी थालेको छ । हालसम्म दुई वडा शुन्यहोम डेलिभरी वडा घोषणा भैसकेको भन्दै अबका केही महिना पछि ४ वडा एकै पटक शुन्यहोम डेलिभरी हुन लागेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिरहेको उनले बताए । गत वर्षदेखि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको भन्दै यो बर्ष पनि स्वास्थ्यका लागि बजेट छुट्याएको बताए ।

सो अवसरमा प्रदेश सभा सदस्य सहसराम यादव, सन्तोष पाण्डेय, जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, वाणगगा नगरपालिका प्रमुख मगल प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, मायादेवी गाउँपालिकाका अध्यक्ष वजरगी कुर्मी, शिक्षक महासंघका देवराज पाण्डेय, पत्रकार महासंघका हरी अधिकारी लगायतले शुभकामना दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ