काठमाडौं, १२ भाद्र । नेपालस्थित भारतीय दूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणको आयोजना भएको भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्थासम्बन्धि नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाल सरकारका २७ कर्मचारीहरुको सहभागीता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । सन् २०१९ जुनमा भारतमा आयोजित ७औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रुपमा सो कार्यक्रम आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो ।
यस्तै प्रशिक्षण कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात/निर्यात तथा घरेलु कर सम्बन्धि जानकारी दिएका थिए । कार्यक्रममा २८ भारतीय ठेकेदारहरुले पनि प्रशिक्षणमा भाग लिएका हुन् ।
तपाईको प्रतिक्रिया