सप्तरी, ७ असार । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रदेशलाई समृद्ध बनाउन महिला सशक्तिकरण आवश्यक रहेको बताएका छन् ।
सप्तरीको डाकनेश्वरी नपा ३ स्थित जनता मावि तहरीको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले महिलाको सशक्तिकरण विना प्रदेशलाई समृद्ध बनाउन सम्भव नरहेकोले प्रदेश सरकार त्यसतर्फ अग्रसर भई सकेको उल्लेख गरेका छन् ।
प्रदेश सरकारले महिलाहरुको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढाउन बेटी पढाउ, बेटी बचाउ, सरकारी सेवामा आरक्षणमा ५० प्रतिशतको व्यवस्था जस्ता अभियान संचालनमा ल्याई सकेको बताए ।
यसका साथै आउँदो आर्थिक वर्षदेखि कक्षा १ देखि ८ सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने अति विपन्न दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई रु. ५ सय प्रति महिला छात्रवृति प्रदान गरिने समेत उल्लेख गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति विद्या देवी भण्डारी, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, नगर प्रमुख शिवनाथ साहसहितले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थको समेत उपस्थिति रहेको थियो
तपाईको प्रतिक्रिया