राज्यले किसानलाई उपेक्षा गर्दा युवा शक्ति पलायन र दुर्व्यसनीमा लागे : वरिष्ठ उपाध्यक्ष सोनल

समाचार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले राज्यले किसानलाई उपेक्षा गरेको ऊर्जावान युवा शक्ति विदेश पलायन र दुर्व्यसनीमा फस्दै गएको बताएका छन् ।

आन्दोलनरत् उखु किसानको आन्दोलनमा बुधबार ऐक्यबद्धता जनाउँदै मधेश प्रदेशका सांसद एवं पूर्वमन्त्रीसमेत रहेका नेता सोनलले राज्यले कृषिलाई प्राथमिकता दियो भने मुलुकको अर्थतन्त्र मजबुत हुने र युवा शक्ति कृषि पेशाप्रति आकर्षित हुने धारणा राखेका हुन् ।

आन्दोलनरत् उखु किसानको मागहरुलाई अविलम्ब पूरा गर्न उनले सरकारसँग माग गरे । उनले भने, ‘कृषकलाई राज्यले उपेक्षा गर्दै आएको छ । सरकारले चालू आर्थिक वर्षमा उखु किसानलाई दिंदै आएको अनुदान रकम विनियोजन गरेन । चालू आर्थिक वर्षको बजेटमा तत्काल उखु अनुदान पुनस्र्थापना गरी बक्यौता भुक्तानी गरोस् ।’

उनले मधेश कृषिका लागि उर्बर भूमि रहेको बताउँदै भने, ‘मधेशले समग्र देशलाई मात्र नभई अन्य देशहरुमा पनि खाद्यान्न निर्यात गर्ने क्षमता राख्दछ, यहाँका युवाले आफ्नै देशमा श्रम गर्न उत्साहित हुन्छन् ।’

बेरोजगारी र अभावका कारणले युवा शक्ति दिनहुँ दुर्व्यसनीमा फस्दै आएको जिकिर गरे ।

उनले उखु किसानको जारी आन्दोलनमा लोसपाको पूर्णरूपमा समर्थन रहेको बताए । उनले सरकारलाई किसानविरोधी नीतिहरू तत्काल फिर्ता लिन र उनीहरूको यथोचित मागहरू पूरा गर्न आग्रह गरे ।

काठमाडौंमा उखु किसानहरूले आन्दोलन गर्दै आएका छन् । सरकारले उखु किसानहरूलाई दिंदै आएको अनुदान कटौती गरेर चालू आवदेखि अनुदान आधा पारेको र पुरानो अनुदान पनि नदिएको भन्दै आन्दोलित छन् ।

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन लोसपाका वरिष्ठ उपाध्यक्ष सोनलसहित, प्रतिनिधिसभा सदस्य रामप्रकाश चौधरी, उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा.सुरेन्द्र झा, विद्यार्थी संघका महासचिव समर साहलगायत उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ