जनकपुरधाम । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री ई.बसन्त कुशवाहाले आफ्नो मन्त्रालय मातहतका करार कर्मचारीहरुलाई हटाई लोकसेवाबाट नाम निकालेका कर्मचारीहरुलाई व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।
उद्योग मन्त्रालयअन्तर्गतका विभिन्न विभागहरुमा कार्यरत कर्मचारीहरुको वार्षिक कार्य सम्पादनको मूल्यांकन हुँदै आएको छ । कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएका करारका कर्मचारीहरुलाई हटाउन लागेको मन्त्री कुशवाहाले मधेशवाणीलाई बताएका छन् ।
केही सञ्चारमाध्यममा मन्त्री कुशवाहाले कर्मचारीहरुलाई बेरोजगार बनाउन लागेको भन्ने शीर्षकमा आएको समाचारबारे मधेशवाणीले राखेको जिज्ञासामा मन्त्री कुशवाहाले खण्डन गरेका छन् ।
मन्त्री कुशवाहाले भने, ‘जनमत पार्टीको सरकारलाई बदनाम गर्न केही सञ्चारमाध्यमले अफवाह र भ्रम फैलाउन खोजेका छन् । त्यसमा सत्यता छैन । हाम्रो मन्त्रालय मातहतमा करारमा रहेका कर्मचारीहरुको हरेक आर्थिक वर्षको अन्त्यमा कार्य सम्पादनको मूल्यांकन हुने गरेको छ । कार्य सम्पादनमा कमजोर देखिएका कर्मचारीहरुलाई मात्र हटाउने मन्त्रीस्तरीय निर्णय भएको छ।
करारका ती कर्मचारीहरुलाई हटाएर तपाइँले बेरोजगार बनाउन लागनुभयो नि ? भन्ने प्रश्नको जवाफमा मन्त्री कुशवाहाले भने, ‘यसमा पनि सत्यता छैन । हटाइएका कर्मचारीहरुका लागि हामीले वैकल्पिक बाटो पनि हामीले पहिल्याएका छौं । ती कर्मचारीहरुलाई हामीले निजी क्षेत्र वा अन्य कुनै ठाउँमा रोजगारीको व्यवस्था गराउने छौं ।’
उनले भनेका छन्, ‘लोकसेवा आयोगबाट आएका कर्मचारीहरुको व्यवस्थापन पनि हाम्रो प्राथमिकता हो । लोकसेवा पास गरेका युवाहरुले काम काम गर्न पाउनुपर्छ । हामीले त रोजगारी सिर्जनाको प्रतिबद्धता गरेका छौं, अनि कसरी बेरोजगार बनाउन सक्छौं ।’
तपाईको प्रतिक्रिया