राकेश यादव, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार झाले नेपाली कांग्रेस देशमै ठूलो दल भएर आउने बताएका छन् ।
आसन्न प्रतिनिधि सभाका लागि चुनावी प्रतिस्पर्धामा रहेका झा बिहीबार रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ४ मिठुअवामा कार्यकर्ता भेटघाटको क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै पूर्वमन्त्री झाले अधुरा लक्ष्य पूरा गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी दिएको बताएका हुन् । उनले गत भाद्र २३ र २४ गते भएको जेन जेड समूहको आन्दोलनको भावना र मर्मअनुसार कांग्रेस परिवर्तन भएको दावी गरे ।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनेको बताउँदै झाले जेन जेडको आन्दोलनले उठाएका मुद्दा र संघीयतालाइ अझै बलियो बनाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार नै अपरिहार्य भएको उल्लेख गरे । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको लागि संविधान संशोधन गर्नु पर्ने आवश्यकता रहेको भन्दै झाले दुई तिहाई सरकारले संविधान संशोधन मात्र सम्भव भएको जनाए ।
प्रतिनिधि सभाको निर्वाचन संघीय कानुन नीति निर्माण गर्नका लागि रहेकोले चुनावी अभियानमा रहेका उम्मेदवारहरुले विकास निर्माण गर्ने कुरो गर्दा जनता झुक्याउने कार्य मात्र भएको बताए ।
नेपाली जनताले मुलुकमा तीन तहको सरकार रहेको अवस्थामा कुन सरकारले के गर्ने र के गर्न नसकिने विषयमा स्पस्ट रुपमा बुझ्नु पर्ने उनको तर्क रहेको छ ।
रौतहट निर्वाचन क्षेत्रमा देखिएका शिक्षा स्वास्थ्य, पूर्वाधार, रोजगारीको समस्या समाधान गर्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । २०७४ सालमा निर्वाचित भएको बेला काम गर्न चाहेको थिए तर समय अनुकुल नहुँदा सोचेर पनि गर्न नसकेको अधुरो कार्यलाइ पुरा गर्ने चाहना लिएर २०८२ सालको निर्वाचनमा भाग लिएको झाको भनाइ रहेको छ ।
संचारकर्मीहरुले सोधेको प्रश्नको जवावमा उम्मेदवार झाले संघीय लोकतान्त्रिक गणतन्त्र मधेश आन्दोलनको जगमा आएको हुँदा कसैले पनि समाप्त पार्ने षड्यन्त्र गरे सफल नहुने ठोकुवा गरे ।
नेपाली कांग्रेस लोकतन्त्र र संघीयताको पक्षधर पार्टी रहेको र आफु पनि संघीयताको सम्बाहक भएकोले मधेश आन्दोलनबाट प्राप्त उपलव्धि संस्थागत गर्न पछि नहट्ने बताए । उनले निर्वाचन क्षेत्रका मतदाताले आफुलाई सहयोग गर्नेमा विश्वस्त रहेको बताए ।
तपाईको प्रतिक्रिया