राकेश यादव, रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल निर्वाचित भएका छन् ।
२०७४ र २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार देव प्रसाद तिमल्सिनालाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् ।
पौडेलले ३६ हजार ८७६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत उद्धव ढोडारीले जानकारी दिएका छन् । निवर्तमान प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले १५ हजार ८६५ मत प्राप्त गरेका छन् ।
२१ हजार ११ मतको अन्तरले जित हासिल गरेका पौडेलले क्षेत्रको समस्यालाइ मुख्य प्राथमिकताको साथ प्रस्तुत गर्ने र जनताको चाहना भावना अनुसार नै कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचित पौडेललाई पराजित भएका उम्मेदवार तिमिल्सिनाले अंगालो हालेर शुभकामना समेत दिएका हुन् ।
चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीका राम कुमार भट्टराईले ९ हजार ९७८ मत, नेकपा एमालेका रामजी साहले ३ हजार ४७८ मत, जनता समाजबादी पार्टीका राजकुमार दासले १ हजार ६२ मत तथा चर्चित पत्रकार आम जनता पार्टीका उम्मेदवार ऋषि धमलाले ६५५ मत ल्याएका छन् ।
तपाईको प्रतिक्रिया