इमरान खान, कपिलवस्तु । तौलिहवा बहादुरगन्ज हुलाकी सडक खण्डअन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर १२ पिपराहवामा रोकिएको ट्रकमा भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी ठोक्किँदा स्कार्पियो गाडीमा सवार २ जनाको मृत्यु भएको छ ।
शनिबार राति लगभग ९ बजेतिर बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको युपी ३२ सिए ८३४३ नम्बरको स्कार्पियो गाडी सडकको किनारतिर रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकसँग ठोक्किएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईका ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका वडा नम्बर ६ धर्मनगरका ५५ वर्षीय चिन्नी कुर्मीको कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले बताए ।
दुर्घटनामा घाइते भएका महाराजगन्ज नगरपालिका वडा नम्बर ११ बनगाईका ६५ वर्षीय नन्द प्रसाद दुबे, शिवराज नगरपालिका वडा नम्बर १० लालपुरका २८ वर्षीय मोतिलाल कुर्मी र शिवराज नगरपालिका वडा नम्बर ११ का २० वर्षीय सुरेश कुर्मीको उपचार भइरहेको ढकालले बताए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।
तपाईको प्रतिक्रिया