जसपा नेपालले लुम्बिनीका चार प्रदेशसभा सदस्यसहित २३ जनालाई पार्टीबाट निष्कासन गर्ने

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित विभिन्न तहका २३ जना नेता तथा जनप्रतिनिधिलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।

ललितपुरको बालकुमारीमा भदौ १६, १७ र १८ गते पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थितिमा तथा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको आरोपमा रुपन्देही–३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिकतर्फबाट निर्वाचित हेमा वेल्वासे (केसी), बाँके–२ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके–२ (२) बाट निर्वाचित आदेश कुमार अग्रवाललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित विभिन्न जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहमा आबद्ध कार्यकर्तामाथि पनि विधानबमोजिम अनुशासनसम्बन्धी कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको छ।

निष्कासनमा पर्नेमा सिरहाको लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, सुखिपुर/सुखवा नन्कारकट्टी गाउँपालिका–४ का रमेश कुमार यादव, धनगढीमाई नगरपालिका–७ का विजय कुमार महतो, कर्जन्हा नगरपालिका–६ का प्रकाशमान श्रेष्ठ, वडा नं. ८ का शम्भु कुमार व्यार, वडा नं. ९ का मो. मुस्तकिम, वडा नं. ११ का किस्मत राईलगायत रहेका छन्।

त्यसैगरी पर्साको कालिकामाई गाउँपालिका–३ का अध्यक्ष संजय कुमार पटेल र वडा नं. १ का अध्यक्ष लालबाबु राउत बरै, प्रदेश नं. १ बाट समानुपातिकतर्फ निर्वाचित प्रदेशसभा सदस्य निर्मला तावा, खोटाङ जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउँपालिका उपप्रमुख गुरुराज राई तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा पार्टी कार्यकर्तालाई पनि कारबाही गरिएको जसपा नेपालले जनाएको छ।

बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साथै पार्टीको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ।

अग्रगामी मोर्चालाई जसपा नेपालको समर्थन

जसपा नेपालले हालै गठन भएको अग्रगामी मोर्चालाई सर्वसम्मतिले स्वागत तथा समर्थन गर्ने निर्णयसमेत गरेको छ।

मोर्चाले घोषणा गर्ने सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी रूपमा सफल बनाउन पार्टीका सम्पूर्ण पङ्क्तिले सक्रिय सहभागिता जनाउने निर्णय बैठकले गरेको छ।

यसैगरी संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। जसअनुसार पश्चिम नवलपरासीमा भदौ २१ गते, रुपन्देहीमा भदौ २२ गते तथा कपिलवस्तु र दाङमा भदौ २३ गते कार्यक्रम आयोजना गरिनेछ।

रसुवागढी बाढीपीडितका लागि २१ लाख सहयोग

बैठकले भदौ १० गते रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका स्वदेश तथा विदेशका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार तथा बाढीपीडितको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारसँग माग गरेको जसपा नेपालले जनाएको छ।

बैठकले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ