‘जेनजी आन्दोलनको उपलब्धि रविको रिहाइ र बालेन्द्रको प्रधानमन्त्री पदबाहेक के भयो?’

समाचार

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ। बरु राजनीतिक तथा सामाजिक समस्याहरू थप जटिल बन्दै गएको उसको भनाइ छ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले मंगलबार वक्तव्य जारी गर्दै आन्दोलनको समीक्षा गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

अध्यक्ष साहले जेनजी आन्दोलनको जगमा मुलुकले ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरे पनि एक वर्ष बितिसक्दा त्यसअनुसारको निकास हासिल हुन नसकेको बताएका छन्।

‘ऐतिहासिक जेनजी आन्दोलनको जगमा देशले ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरेको थियो। तर आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन सकेको छैन। समस्याहरू झन् जटिल बन्दै गएका छन् र परिवर्तनको प्रवाह यथास्थितिको दलदलमै अल्झिएको छ,’ उनले वक्तव्यमा भनेका छन्।

साहले जेनजी आन्दोलनको उपलब्धिका रूपमा रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौंका तत्कालीन मेयर बालेन्द्र शाह प्रधानमन्त्री बनेको विषयबाहेक आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने उल्लेखनीय परिवर्तन नदेखिएको टिप्पणी गरेका छन्।

हिजो ‘रामराज्य’को वकालत गर्दै आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गर्ने पात्रहरू छोटो समयमै जनताका नजरमा खलनायकका रूपमा स्थापित हुँदै गएको उनको दाबी छ।

अध्यक्ष साहले आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिको मृत्युका लागि जिम्मेवार व्यक्तिहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुको सट्टा वर्तमान सरकार उनीहरूसँग सहकार्यमा रमाइरहेको आरोपसमेत लगाएका छन्।

उनका अनुसार आन्दोलनको अग्रपंक्तिमा रहेका जेनजी युवालाई सम्मान, अवसर र रोजगारी उपलब्ध गराउनुको सट्टा झूटा मुद्दा लगाएर दुःख दिने काम भइरहेको छ।

त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका युवालाई राज्यका तर्फबाट निःशुल्क तथा प्रभावकारी उपचार उपलब्ध गराउन नसकिएको उनको गुनासो छ। आर्थिक अभाव, मानसिक तनाव र शारीरिक पीडाबीच घाइतेहरू संघर्ष गर्न बाध्य भएको उनले बताएका छन्।

साहले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले युवाहरूको रगत, पसिना र बलिदानलाई राजनीतिक स्वार्थपूर्तिको साधन बनाएको अनुभूति भएको बताएका छन्।

उनका अनुसार जेनजी युवाका लागि नीतिगत तथा संरचनागत सुधारका ठोस काम अघि बढाउनुको सट्टा आन्दोलनको भावनालाई मत्थर पार्न ‘जेनजी’को नाममा सार्वजनिक बिदा घोषणा गर्नेजस्ता प्रतीकात्मक र लोकप्रियतावादी कदममा सरकार सीमित भएको छ।

कमन जेनजी नेपालले सरकारसमक्ष आन्दोलनसँग सम्बन्धित बाँकी मुद्दा तत्काल सम्बोधन गर्न माग गरेको छ। घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने, आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा बिनासर्त खारेज गर्नुपर्ने तथा भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने उसको माग छ।

वक्तव्यमा जेनजी आन्दोलनका क्रममा उठाइएका माग र त्यसको भावनाअनुसार नीतिगत तथा संरचनागत सुधार अघि बढाउनसमेत सरकारलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ