‘शहीदको बलिदान खेर जान दिँदैनौँ’ : जेनजी अभियन्ता साह

समाचार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा कमन जेनजीका अध्यक्ष विकेश साहसहित विभिन्न जेनजी अभियन्ता तथा युवाहरूको सहभागिता थियो। सहभागीहरूले शहीदहरूको तस्वीर तथा स्मृतिसामु दीप प्रज्वलन गर्दै मौनधारण गरी उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी युवाहरूले आन्दोलनका क्रममा उठाइएका माग तथा मुद्दा अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले शहीद परिवार, घाइते तथा आन्दोलनकारी युवाहरूका सवाललाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कमन जेनजीका अध्यक्ष विकेश साहले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई स्मरणमा मात्र सीमित गर्न नहुने बताए। शहीदहरूले उठाएका मुद्दा र मागलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उनले आन्दोलनको उद्देश्य पूरा नभएसम्म युवाहरूको संघर्ष जारी रहने बताए।

साहले वर्तमान सरकारले जेनजीले उठाएका मुद्दा र माग सम्बोधन गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाए। आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीद परिवार, घाइते तथा आन्दोलनकारी युवाहरूका सवाल पर्याप्त रूपमा सम्बोधन हुन नसकेको उनको भनाइ थियो।

सहभागी जेनजी अभियन्ताहरूले आन्दोलन कुनै व्यक्ति वा समूह विशेषको स्वार्थका लागि नभई देशमा परिवर्तन, सुशासन, जवाफदेहिता, भ्रष्टाचारको अन्त्य तथा युवाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले अघि बढेको दाबी गरे। उनीहरूले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष समीक्षा गर्दै शहीदहरूको योगदानको उचित सम्मान र अभिलेखीकरण गर्नुपर्ने मागसमेत गरे।

दीप प्रज्वलनका क्रममा सहभागीहरूले शहीदहरूको स्मृतिलाई जीवन्त राख्ने र उनीहरूले उठाएका सवाललाई निरन्तर बहस तथा अभियानको विषय बनाउने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले ‘महान् जेनजी शहीदहरू, हामी तपाईंहरूलाई सम्झिरहनेछौँ, तपाईंहरूको बलिदान खेर जान दिनेछैनौँ’ भन्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।

यसैबीच, भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि कमन जेनजी नेपालले आफ्ना संघर्षका कार्यक्रम स्थगित गरी राहत तथा उद्धारमा समेत सक्रिय भएको जनाएको छ। आगामी दिनमा शहीदहरूको स्मृतिलाई निरन्तर जीवन्त राख्दै युवाका मुद्दालाई संगठित रूपमा अघि बढाउने आयोजकको भनाइ छ।

कार्यक्रममा सहभागी युवाहरूले राज्यले युवाको आवाज सुन्नुपर्ने, आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्नुपर्ने तथा शहीद परिवार र घाइतेहरूको उचित सम्मान, संरक्षण र सहयोग सुनिश्चित गर्नुपर्ने माग दोहोर्‍याएका छन्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ