गुठीलाई सामन्ती प्रथा देख्नेहरू कम्युनिष्ट नभई फासिष्ट हुन् : श्रेष्ठ

राजनीति

6/16/2019

ललितपुर, १ असार । समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुथि विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र भएको बताएका छन् ।

पार्टी प्रवेशको अवसरमा रामेछाप जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले भने, ‘गुठी प्रथा मानवता, सहकारी र परोपकारी भावनाले हाम्रा पुर्खाहरूले सृजना गरेको प्रगतिशील र मौलिक प्रथा हो । यो सामुदायिक सम्पति भएकाले कम्युनको भ्रुण हो । गुठि सञ्चालनको जिम्मा गुठीयारहरूलाई नै दिनु पर्छ । गुठीलाई सामन्ती प्रथा देख्नेहरू कम्युनिष्ट नभई फासिष्ट हुन् ।’

का.वा.अध्यक्ष श्रेष्ठले गुठी विधेयक चीनको साँस्कृतिक क्रान्तिको नेपाली संस्करण भएको बताउँदै उनले भने, ‘ओली सरकारले सुतिरहेको सिंहको जुंगा तानेर नेवार समुदायलाई जिस्क्याएको छ । अब जनताले २५० वर्षदेखिको हिसाव किताव गने छ ।’

उनले पौराणिक कथाहरूमा भष्मासुूरलाई वरदान दिंदा महादेवलाई नै आपत्ति परेको उदाहरण दिैदै भने, ‘नेपाः भ्यालीका जनताले ऐतिहासिक पृष्ठभूमिको आधारमा राष्ट्रिय पहिचानसहितको सङ्घीयताका विरोधी कम्युनिष्ट पार्टीलाई सत्तामा पुर्याए, अहिले त्यो भष्मासूर सावित भएको छ । तिनीहरूले नेवाःको मात्र नभई नेपालकै सभ्यता, संस्कृति र सम्पदालाई समाप्त गर्न अग्रसर भएको छ ।

पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरूलाई अबीर र खादा लगाएर स्वागत गर्दै उनले सबै नव प्रवेशीहरूलाई उचित जिम्मेवारी दिन अनुरोध गरे ।

उनले पार्टी विधानले एउटै गाउँपालिकामा पनि पालिका समिति, वडा समिति र प्रारम्भिक समिति गरी तीन तह हुने र जनसंगठन समेतमा आवद्ध गर्दा करिव हजार जना कार्यकर्ता सङ्गठीत हुन सक्ने बताए ।

सोनाम तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी केन्द्रीय सदस्यहरू के.बि.घःजु, विद्युत वज्राचार्य, सोनाम सिं स्याङ्तान, ३ नम्बर प्रदेशका सदस्य रोज मोक्तान लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ