वीरगंज, २० चैत । संघीय समाजवादी फोरम नेपालका सांसद प्रदिप यादवको लामो संघर्ष तथा अथक प्रयासपछि जन्मसिद्धका आधारमा नागरिकता लिएकाहरुको सन्तानले वंशजका आधारमा नागरिकता पाउने भएका छन् ।
जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता पाउन बाटो खुलेको हो ।
जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानले नागरिकता नपाएका कारण बेहोर्नुपरेको समस्यालाई गम्भीरतापूर्वक लिएका पर्सा निर्वाचन क्षेत्र ंनम्बर १ बाट निर्वाचित सांसद यादवले मिति २०७४ साल साउन २५ गते वीरगञ्ज महानगरपालिका कार्यालय, पर्सा जिल्ला प्रशासन कार्यालय, गृहमन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यवस्थापिका संसदविरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सांसद यादवको पक्षमा फैशला गर्दै सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई संविधानअनुसार वंशजको नागरिकता दिन सरकारलाई आदेश गरेको हो ।
संविधानमा जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपाली भए वंशजको नागरिकता पाउने उल्लेख छ ।
जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गराएको प्रति सांसद यादवले जेठ ४ गते सांसदमा घोर आपत्ति जनाउँदै नागरिकता प्रदान गर्न माग गरेका थिए ।
नागरिकताको कारण नेपाली नागरिकहरुले पाउनुपर्ने मौलिक अधिकारबाट वञ्चित भइरहेको प्रति दुःख व्यक्त गर्दै सांसद यादवले दिनानुदिन सरकारको ढोका घच्घच्याउँदै आएका थिए ।
पटक–पटक राज्यको न्यायिक ढोका ढक्ढकाएर भएपनि अन्ततः जनताको माग सम्बोधन हुनुलाई सांसद यादवले खुशीको पल भएको बताएका छन् ।
गृह मन्त्रालयले जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
तपाईको प्रतिक्रिया