काठमाडौं, १२ जेठ । पिछड़ा वर्गको अधिकारको लागि विगत लामो समयदेखि संघर्ष गरिरहनु भएका लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पिछड़ा वर्ग (OBC) को लागि छुट्टै समानुपातिक क्लस्टर कायम हुनुपर्ने बताएका छन् ।
पिछड़ा वर्गको आरक्षण र संविधानमा उल्लेख भए अनुसारको अधिकारलाई कानुनमा लागु गराउन सरकारमाथि दबाब दिइने र पार्टीको संगठनलाई पिछड़ा वर्गमा विस्तार गर्ने निर्णय गरेको छ ।
शनिवार मधेश मिडिया हाउसमा पिछड़ा वर्गको अधिकार र आरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले मधेशीको नाममा दिएको आरक्षणको ८० प्रतिशत उपभोग त्यहाँका उच्च जात भनिनेहरुले गर्ने गरेको र बांकी रहेको पनि कानुनी दाऊपेचका कारण फेरी खुला कोटामा फर्किने गरेकाले पिछड़ा वर्ग (OBC) को छुट्टै आरक्षण र अन्य सबै व्यवस्था छुट्टै हुनुपर्ने बताए ।
उनले पिछड़ा वर्ग (OBC) का छोरा छोरीले कहीं पनि जागिर नपाउने, कुनै छात्रवृत्ति नपाउने, राज्यको कुनै निकायमा प्रतिनिधित्व गर्न नपाउने भएकोले पिछड़ा वर्ग (इद्यऋ) को सबै व्यवस्था छुट्टै हुनुपर्ने र यसको लागि लोक दल अनवरत संघर्ष गरिरहेको जानकारी दिए ।
अध्यक्ष सिंहले नेपालको संविधानमा रहेको आरक्षण सम्बन्धि व्यवस्था त्रुटीपूर्ण रहेकाले अहिलेको आरक्षण सम्बन्धि व्यवस्थाले सबै वर्ग, समुदाय र जातिहरु लाभान्वित हुन नसक्ने जिकिर गर्दै नेपालको आरक्षण व्यवस्थालाई वैज्ञानिक रुपमा अगाडी बढाउनुपर्ने र आरक्षणमा क्रिमी लेयर लागु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लोक दलका महासचिव सी एन खड्गाले पिछड़ा वर्गको आरक्षणको लागि लोक दल आफ्नो स्थापना कालदेखि नै संघर्ष गरिरहेकाले पिछड़ा वर्गको छुट्टै आरक्षण र संवैधानिक आयोगको विकल्प नरहेको बताए ।
उनले पिछड़ा वर्गकै पृष्ठभूमिबाट निर्माण भएको यो पार्टीले पिछड़ा वर्गको मुद्दामा छुट्टै र विशेष संघर्ष गर्ने निर्णय गरेको जानकारी समेत दिए ।
कार्यक्रममा कोषाध्यक्ष इन्दिरा शाहले पार्टी पिछड़ा वर्गको मुद्दामा काम गरिरहे पनि पिछड़ा वर्गको जनता आफ्नो अधिकारको सचेत हुन नसकेको गुनासो गरे ।
तपाईको प्रतिक्रिया