काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन बिहीबार दिल्ली जाने भएका छन् । भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।
प्रधामन्त्री ओली जेठ १६ गते बिहीबार दिल्ली जाने र सोही दिन मोदीको सपथग्रहण समारोहमा सहभागी हुनेछन् । मोदीले बिहीवार साँझ ७ बजे राष्ट्रपति रामनाथ कोविन्दबाट सपथग्रहण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली सपथग्रहण र मोदीसँग द्विपक्षीय वार्तापछि जेठ १७ गते नै स्वदेश फर्कने छन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।
यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा दक्षिण एसियाली मुलुकका सरकार प्रमुखलाई बोलाइएको थियो । त्यसबेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।
मोदीको सपथ ग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र माल्दिब्सका सरकार प्रमुखलाई भने निम्ता नदिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीको समथग्रहण समारोहमा मोरिसस र चेक गणतन्त्रका सरकार प्रमुख पनि सहभागी हुनेछन् ।
तपाईको प्रतिक्रिया