जनकपुरधाम, १३ जेठ । समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले समतामूलक समृद्ध राष्ट्र निर्माणका लागि सम्मुन्नत संघीय समाजवाद एक मात्र विकल्प रहेको बताएका छन् ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकीकरण पछि नेता कार्यकर्ताहरुलाई एकताको आवश्यकता र औचित्यबारे जानकारी गराउने उद्देश्यले जनकपुरमा आइतबार आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै शीर्ष नेताहरुले राज्यसत्ताबाट विभेदमा परेका मधेशी, आदिवासी, जनजाति, दलित मुस्लिम र विभेदमा परेका खस आर्यलाई एकता सुत्रमा बाँधी सम्मुन्नत राष्ट निर्माणको दिसामा पार्टी अघि बढने उदघोष गरे ।
पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी पार्टी नेपालले अपनाएको सिद्धान्तले मात्र सही मायनेमा राष्ट्रिय एकता कायम गर्ने दावी गरे ।
उनले हालको संविधानले राष्ट्रको सार्वभौम सत्ता जनतामा निहीत गरे पनि पहिचानको आधारमा प्रदेशहरुको निर्माण नभएसम्म वास्तविक संघीयता आउन नसक्ने उल्लेख गरे ।
पहिलो संविधान सभाको क्रममा तत्कालीन राज्य पुनःसंरचना आयोगले निर्धारण गरेको १० जोड १ को संघीय प्रणाली नै मुलुकको आवश्यकता रहेको जिकीर समेत गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुलुकलाई सम्मुन्नत संघीय समाजवादमा रुपान्तरण गर्न प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद हुनुपर्नेमा जोड दिए ।
तपाईको प्रतिक्रिया