काठमाडौं, ६ जेठ । प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादवले अज्ञानतावश ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेको स्पष्टीकरण दिएका छन् ।
उनीहरुले सोमबार विज्ञप्ति जारी गर्दै जानाजान नभई अज्ञानतावश लाटिभयाको राजधानी रिगामा भएको स्वतन्त्र तिब्बतको वकालत गर्ने ‘तिब्बतबारे सातौँ विश्व संसदीय सम्मेलन’मा भाग लिन पुगेको प्रष्टीकरण दिएका हुन् । सांसदद्वय मियाँ र यादव व्यक्तिगत भ्रमणमा टर्की, स्वीजरल्यान्ड र लाट्भिया गएका थिए ।
त्यही अवसरमा लाट्भियामा भएको उक्त सम्मेलनमा भाग लिन पुगेको भन्दै क्षमायाचनासमेत गरेका छन् । मियाँ राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुन् भने यादव समाजवादी पार्टी, नेपाल (तत्कालीन संघीय समाजवादी फोरम, नेपाल)का सांसद हुन् । दुवै पार्टीले उनीहरू स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएको भन्दै प्रष्टीकरण दिन भनेका थिए । सभामुख कृष्णबहादुर महराले पनि यो विषयमा चासो राखेका छन् ।
सभामुखको चासोपछि सांसदद्वयले विज्ञप्ती निकालेर प्रष्टीकरण दिएका हुन । सभामुख महरालाई पनि प्रष्टीकरण बुझाइसकिएको सांसद मियाँले बताए ।
‘नेपालको संविधान, प्रचलित कानुनले निर्धारण गरेका अन्तर्राष्ट्रिय सम्बन्ध तथा नेपाल सरकारको एक चीन नीतिप्रति हाम्रो सदैव प्रतिवद्धता र दृढ समर्थन रहेको कुरा हृदयदेखि नै व्यक्त गर्न चाहन्छौँ’, विज्ञप्तीमा भनिएको छ । बैशाख २४ देखि २७ गतेसम्म लाटभियामा भएको सम्मेलनमा स्वतन्त्र तिब्बतसम्बन्धी कार्यपत्रहरूमा छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया