वीरगन्ज, ३ चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य प्रदीप यादवले चुनावताका जनतासँग गरिएको विकास निर्माणलगायत सामाजिक कार्यमा सक्रिय भएर सहयोग गर्ने गरेका बाचाहरु पूरा गरिरहेका छन् ।
सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा निर्माण हुन लागेको विवाह भवन तथा नगवा प्रवेशद्वारको रुपमा निर्माण गर्न लागिएको शहीदगेटको सांसद यादवले शिलान्यास गरेका छन् ।
मधेश आन्दोलनको केन्द्रको रुपमा रहेको नगवा चौकमा प्रवेशद्वारको रुपमा शहीद गेट निर्माण गर्दा एउटा ऐतिहासिक मधेश आन्दोलनको यादगारको रुपमा रहने बताउँदै सांसद यादवले मधेश आन्दोलनमा शहीद भएकाहरुप्रति पनि सच्चा श्रद्धान्जली अर्पण हुने विश्वास व्यक्त गरे ।
आफूले जनतासँग गरिएको बाचाअनुसार नै अहिले आफ्नो निर्वाचन क्षेत्रको हरेक गाउँमा आधुनिक विवाह भवनको निर्माण कार्यलाई निरन्तरता दिइरहेकोमा खुशी समेत व्यक्त गरे । पर्सालाई विकासको माध्यमले एउटा नमुना जिल्लाको रुपमा विकास गर्ने समेत लक्ष्य लिएर काम गरि रहेको बताए ।
सांसद यादवको संसदीय विकास पूर्वाधार कोषबाट २० लाखको लागतमा विवाह भवन निर्माण हुन लागेको हो ।
विवाह भवन शिलान्यास कार्यक्रममा प्रदेश सांसद प्रहलाद गिरी, वडा अध्यक्ष राधेश्याम चौरसिया लगायत फेरम नेपालका नेता, कार्यकर्ता तथा स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया