महन्थ ठाकुरको लोसपाका १४ सांसदले गरे सनाखत (नामसहित)

राजनीति

काठमाडौं, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

देउवा सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भाद्र २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको थियो ।

पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका रेशम चौधरीले त्यहीँबाटै सनाखत गरेको बताए ।

१४ सांसदले सनाखत गरेसँगै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।

कार्यकारिणी समितिका ५१ मध्ये १७ जनाले सनाखत गरेको जानकारी दिदै उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील रहने र समाबेशी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए ।

महतोले अध्यादेश ल्याएर सरकारले आफूहरुलाई सहज पारिदिएकोसमेत बताए । उनले विचार नमिलेपछि दल विभाजन हुनु स्वभाविक रहेकोसमेत बताए ।

सनाखत गर्ने १४ सांसदहरु

महन्थ ठाकुर

राजेन्द्र महतो

शरतसिंह भण्डारी

अनिलकुमार झा

लक्ष्मणलाल कर्ण

चन्दा चौधरी

निर्जला राउत

विमलप्रसाद श्रीवास्तव

उमाशंकर अगगरिया

एकवाल मियाँ

चन्द्रकान्त चौधरी

दुलारीदेवी खँग खत्वे

कल्लुदेवी विश्वकर्मा

शेखरकुमार सिंह

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ