नमुना नगर बनाउने हाम्रो संकल्प हो : मेयर मण्डल

स्थानीय सम्वाद्

हरिप्रसाद मण्डल, नगरप्रमुख, मटिहानी नगरपालिका, महोत्तरी

० आगामी पाँच वर्षका लागि तपाइँका प्राथमिकताहरू के–के छन् ?

— आगामी कार्यकालमा हामी नयाँ भिजन लिएर अगाडि बढ्नुपर्ने हुन्छ । २०७४ सालको निर्वाचनमा निर्वाचित हुँदा त्यतिबेलाका आवश्यकताहरू पूर्ति गर्ने काम गरें । अब नयाँ किसिमका कार्यक्रमहरू लिएर हामी अगाडि बढ्ने परिकल्पना गरेका छौं । आर्थिक विकासलाई प्राथमिकतामा राखेका छौं । उद्योग तथा वाणिज्यतर्फ हामी एउटा नयाँ सोचहरू बनाउँछौं । यस्तै, पर्यटन क्षेत्र, सामाजिक विकास लगायतका तमाम क्षेत्रमा एउटा नयाँ किसिमका परिकल्पना र अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै अगाडि जानुपर्ने हो । सोहीअनुसार हामीले नीति तथा कार्यक्रम पनि ल्याएका छौं ।

० विगत पाँच वर्षमा तपाइँले गर्न नसकेका कामहरू के–के छन् ?

— हामीले विभिन्न कारणवश विगत पाँच वर्षमा कृषि, सडक, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सकेनौं । तर जनताको प्राथमिकतालाई अवश्य नै पूरा गरेको अनुभूति नगरवासीले गरिरहेका छन् । पहिलाका योजनाहरूलाई हामीले निरन्तरता दिनैपर्ने हो । त्यसलाई प्राथमिकतामा राखेर नै काम गर्छौं । आगामी पाँच वर्षमा धेरै नीतिगत कुराहरू तलमाथि हुने गर्दछ । त्यतिबेला नयाँ–नयाँ अवधारणाहरू पनि आइसकेका हुन्छन् । यो चुनावका बेला जब हामी जनताको घरदैलोमा पुग्यौं र जे कुराहरू प्राप्त भयो ती कुराहरूलाई पनि प्राथमिकतामा राख्दै काम गर्नुपर्ने भएकोले यो नगरपालिकालाई नयाँ पालिका निर्माणमा जुट्ने हामीले संकल्प लिएका छौं ।

० आगामी पाँच वर्षमा काम गर्न चुनौती पनि महसुस गर्नुहुन्छ ?

— जनताका लागि काम गर्दा वा विकास निर्माणका काम गर्दा कुनै पनि चुनौती देखिँदैन । निष्पक्षरूपमा काम गर्ने हो भने चुनौती केही पनि छैन । तर, केही प्रक्रियागत कुराहरूमा अलि–अलि बाधा, अड्चन आउँछन्, त्यसलाई समाधान गर्दै जाँदा खासै चुनौती हुँदैन ।

० आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेटमा नयाँ कुराहरू के–के छन् ?

— यस पटकको बजेटमा विभिन्न नयाँ योजनाहरू अवश्य नै रहन्छन् । हामीसँग वारूण यन्त्र थिएन, त्यो किन्ने हो । सरसफाइको क्षेत्रमा फोहोर उठाउे हामीसँग दुईटा ट्याक्टर थियो अब थप एउटा किन्ने योजना छ । नगर प्रहरीको व्यवस्था गरिने छ । यस्तै, पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम जस्ता कार्यक्रमहरू गर्ने योजना छ । यस्तै, हरेक घरलाई कम्तीमा १० वटासम्म आँपको विरूवा वितरण गर्ने कार्यक्रम ल्याउँछौं । पूरै पालिकामा वाईफाई फ्री गर्ने सोचमा छौं । यस्तै–यस्तै विभिन्न नयाँ कुराहरू बजेटमा ल्याउँछौं ।

० चुनावमा जनताको घरदैलोमा मत माग्न जाँदा के–के प्रतिबद्धताहरू गर्नुभएको थियो ?

— मैले २०७४ को चुनावका बेला पनि जनतासँग कुनै प्रतिबद्धता वा आश्वासन दिएको थिइन र यो चुनावमा पनि दिइन । किनभने मैले यहाँका आवश्यकताहरूलाई राम्ररी बुझेको छु । आधारभूत आवश्यकताहरू पूर्ति गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ भनेको थिएँ । त्यहींअनुसार यहाँका जनताले मलाई विश्वास गरेर मतदान गरेका थिए । यसपटक पनि मैले घरदैलोमा जाँदा मतदातालाई भनेको थिएँ कि मेरो विगत पाँच वर्षको काम गराइको आधारमा मत दिनुस् । जनताले मेरो मूल्यांकन गरे र फेरि मतदान गरेर विजयी बनाएर पठाएको हो । म मटिहानी नगरपालिकाको हरेक टोल–टोलमा पुगेको छु, मलाई यहाँका आवश्यकताहरू राम्ररी थाहा छ । म दैनिक जनतासँग सम्वादमै रहन्छु ।

० मटिहानीको जनजीवन कृषिमा आधारित छ, कृषि क्षेत्रमा के–के ल्याउँदै हुनुहुन्छ ?

— आगामी कार्यकालका लागि हामीले कृषिलाई विशेष महत्व दिएका छौं । खासगरी यहाँको सिंचाइको समस्या रहेको छ । त्यसका लागि हामीले ट्युबेलको व्यवस्था गर्ने योजना ल्याउँदै छौं । यस्तै, मलखादको पनि समस्या छ । हाम्रो कृषि प्रधान देश भन्ने गरिन्छ तर राज्यले सहजरूपमा मलखाद उपलब्ध नगराउनु ज्यादती नै हो । यसका लागि संघीय सरकारले नै विशेष पहल गर्नुपर्ने हो । हाम्रो राज्यले उपलब्ध गराउन नसक्नु र छिमेकी राष्ट्र भारतबाट किसानहरू ल्याउँदा रोक्न खोज्नु दुर्भाग्य नै हो ।

० स्थानीय चुनावको दुई दिन पहिला तपाइँकै पालिकामा संघीय सांसद चन्दा चौधरी र तपाइँमाथि पनि आक्रमणको प्रयास भएको थियो, त्यो घटना के थियो ?

— त्यो त नितान्त निन्दनीय र कायरतापूर्ण कार्य थियो । म उम्मेद्वार थिएँ, आक्रमणकारीहरूले मलाई नै टारगेट गरका थिए । तर एउटा माननीय जो आफ्नो घरमा बसिरहनुभएको छ, उहाँमाथि आक्रमण, गालीगलोज, अभद्र व्यवहार गर्न खोज्नु नितान्त दुःखद् हो । हामी त्यसैबेला घोर भत्र्सना गरेका थियौं । हामी दुवै जनाले त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा जाहेरी निवेदन दर्ता गराएका थियौं । तर अहिलेसम्म त्यसप्रति कुनै किसिमको कारबाही भएको हामीलाई थाहा छैन । उनीहरू अपराधिक मानसिकता पहिला पनि थिए, यस्ता घटनाहरू घटाइरहेका हुन्छन् ।

० आक्रमण गर्न खोज्नेहरूमाथि कुनै किसिमको कारबाही भएको छैन त ?

— ती अपराधिक प्रवृत्तिका व्यक्तिहरूमाथि अहिलेसम्म कुनै किसिमको कारबाही भएको छैन । उनीहरू स्वतन्त्ररूपमा घुमिरहेका छन् । उनीहरूको गतिविधिहरू अहिले पनि त्यस्तै खालका रहेका छन् ।

० त्यस्ता अपराधिक प्रवृत्तिका व्यक्तिहरूमाथि कारबाही हुन नसक्नुको कारण के हो ?

— राज्य संयन्त्रमा उनीहरूको पहुँच रहेको बुझिन्छ । राज्यसत्ताको दुरूपयोग गरेर कारबाहीलाई प्रभावहीनता बनाएको होला । उनीहरूले गुण्डागर्दी गरेर चुनाव जित्न सकिन्छ भन्ने ठानेका होलान् । मलाई हत्या गरेर चुनाव जित्छु भन्ने योजना उनीहरूको थियो । अब फेरि अर्को चुनावहरू आउँदैछन्, त्यो बेला पनि उनीहरूले त्यस्ता गतिविधिहरू गर्न सक्छन् । राज्यले त्यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न सकेन, जसले गर्दा उनीहरूको मनोबल बढ्दै गएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ