रौतहट, २७ चैत । रौतहटको परोहा नगरपालिकाले गरुडास्थित वंशीराम जयसवाल अनाथालयको अक्षयकोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको छ । नगर परिषदको निर्णयअनुसार अनाथालयको उपचार कोषमा साढे दुई लाख रुपैयाँ सहयोग गरेको हो ।
अनाथालय पुगेर नगरपालिकाका निमित्त कार्यकारी प्रमुख ओमप्रकाश यादवले अनाथालयका संस्थापक वंशीराम जयसवाललाई साढे दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे । गत आवमा पनि नपाले अनाथालयलाई साढे दुई लाख रुपैयाँ सहयोग गरेको थियो ।
अनाथालयमा रहेका ३४ बालबालिकालाई स्वास्थ्य उपचारमा सहयोगको लागि अक्षयकोष आवश्यक भएकोले अनाथालय संस्थापक जयसवालले एक करोड रुपैयाँको अक्षयकोष स्थापनाका लागि आह्वान गरेका थिए ।
अनाथालयको अक्षयकोषमा अहिलेसम्म ३२ लाख ५० हजार रुपैयाँ जम्मा भइसकेको अनाथालयका प्रमुख हृदयनारायण कुशवाहाले जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया